जेनजी आन्दोलनमा घाइते भएका रौतहट, दुर्गावतीका १६ वर्षीय शिवमकुमार झालाई एनआरएनए बेल्जियमले आर्थिक सहयोग गरेको छ ।
सेप्टेम्बर ८ र ९ मा भएको जेनजी युबाहरुको आन्दोलनमा घाइते भएका शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि ऋण गरेर घर फर्किनु परेको समाचार नेपालखबरमा प्रकाशित भएको थियो, सो सम्बन्धि जानकारी पत्रकार ओम शर्मा मार्फत पाएपछि एनआरएनए बेल्जियमले उनको उपचार खर्च व्यहोरेको एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थीले बताएकाछन्।
अस्पतालमा लागेको उपचार खर्च र औषधि खर्च जोड्दा शिवमले लगभग ४० हजार रूपैयाँ ऋण लिनुपरेको थियो। नेपाल सरकारले सबै घाइतेको उपचार खर्च व्यहोर्ने भने पनि कतैबाट पनि सहयोग नपाएपछि ऋण गरेर अस्पतालबाट डिस्चार्ज गर्नुपरेको उनका छिमेकी दाइ सञ्जीव झाले बताएका थिए।
शिवमका बुवाआमा ज्याला मजदुरीबाट गुजारा गर्दै आएकाले छोराको उपचार खर्च जुटाउन समस्या भएको थियो।
एउटा सामान्य ज्याला मजदुरी गरेर खाने परिवारमाथि एकैपटक ४० हजार रुपैयाँको बोझ थपिएपछि निकै गाह्रो परेको सञ्जीवले बताएका थिए।
एनआरएनए बेल्जियमबाट ५० हजार रुपयाँ सहयोग रकम प्राप्त भएपछि केही राहत भएको भन्दै शिवमकी आमा अनिता देवीले एनआरएनए बेल्जियम परिवार प्रति आभार प्रकट गरेकिछिन ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते साथीहरूलाई प्रहरीले कुटपिट गरेर टाउको फुटाइदिएपछि भोलिपल्ट त्यसको विरोध गर्न शिवम पनि आन्दोलनमा गएका थिए। करिब साढे ४ बजेतिर प्रहरीले लखेट्दा सडकमा लडेर सरिर भरि सिसाले काटेर शिवम घाइते भएका थिए।
भर्खरै एसईई गरेका शिबमलाई घरपरिवारले पढाउन नसक्ने भएपछि मामाघर चन्द्रनिगाहपुरमा बसिरहेका थिए।
नेपालखबरका सम्बाददाता आयुषा ढकालले शिबमलाई सहयोग हस्तान्तरण गर्न सहजीकरण गरेकी थिईन।