नबिन थपलिया, स्टकहोम (स्विडेन), २५ अगस्ट २०२५,
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विडेनले यस वर्षको हरितालिका तीज पर्व विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको छ । नेपाली महिलाहरूको मौलिक पर्वलाई परदेशमा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्विडेन भरका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
स्टकहोमको Årsta Folkets Hus मा आयोजना भएको कार्यक्रमको औपचारिक सत्र रिना ढकालको सञ्चालन र एनआरएनए स्विडेनका अध्यक्ष राजेन्द्र तामाङको सभापतित्वमा भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष नवीन थपलिया, पूर्व अध्यक्ष अर्जुन श्रेष्ठ, दिनेश श्रेष्ठ तथा निवर्तमान अध्यक्ष एवं वर्तमान आईसीसी सदस्य गंगा घिमिरेले सम्बोधन गर्दै तीज पर्वको शुभकामना दिनुभयो।
उहाहरुले स्विडेनमा रहेका नेपाली समुदायबीच आपसी एकता, संस्कृति प्रतिको लगाव र भावी पुस्तालाई नेपाली परम्परासँग जोडिराख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
सांस्कृतिक कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरूले तीज गीत, नृत्य र विविध प्रस्तुति प्रस्तुत गरे। यी प्रस्तुतिहरूले उपस्थितहरुलाई मनोरञ्जन मात्र नभई परम्परागत संस्कृति प्रतिको गर्व महसुस गराएको सहभागीहरूको प्रतिक्रिया थियो।
औपचारिक सत्रपछि ‘तीज स्पेशल डिनर’ को विशेष परिकारले सबैलाई नेपाली स्वादको झल्को दिलायो।
दोस्रो चरणको कार्यक्रम लोकप्रिय गायिका शान्तीश्री परियारलाई समर्पित गरिएको थियो। उहाँले निरन्तर प्रस्तुत गरेका तीजका गीतहरूले हलभरि जमघट भएका सहभागीहरूलाई एकोहोरो नचाइदियो। महिला मात्र नभई पुरुष, युवा, बालबालिका सबैले उनको परियारका गीतमा झुम्दै तीज पर्वलाई वास्तविक उत्सवको माहोलमा परिणत गरेका थिए।
कार्यक्रममा तीज क्वीन प्रतिस्पर्धाले बिशेस रौनक ल्याएको थियो जसको बिजेता प्रतिभा रिजाल राउत बन्नुभयो।
कार्यक्रममा उल्लेखनीय संख्यामा नेपाली समुदायको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। रातो पहिरनमा सजिएका महिलाहरूको सहभागिताले सम्पूर्ण वातावरण तीजमय बनेको थियो। सहभागीहरूले यस वर्षको कार्यक्रमलाई ‘सबैभन्दा सफल र स्मरणीय’ रहेको प्रतिक्रिया दिएका छन्।
एनआरएनए स्विडेनले आयोजना गरेको यो तीज विशेष कार्यक्रमले परदेशमा बसोबास गर्ने नेपालीबीच आपसी एकता मात्र बढाएको छैन, बरु नेपाली संस्कृतिलाई जगेर्ना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गरेको छ।

