विदेशमा रहेका नेपाली प्रतिभाको तथ्यांक संकलन गर्न ब्रसेल्सस्थित नेपाली दूतावासको पहल,

ब्रसेल्स, बेल्जियम — भदौ ११, २०८२ (अगस्ट २७, २०२५)

0

विदेशमा छरिएर रहेका नेपाली प्रतिभाको पहिचान, अभिलेखीकरण र सञ्जाल विस्तार गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित प्रतिभा प्राप्ति केन्द्र (Brain Gain Centre)’ मा आबद्ध भएर मातृभूमिको बिकास अभियानमा सहभागी हुन नेपाली राजदूतावास ब्रसेल्सले बेनेलक्समा रहेका प्रतिभाहरुलाई आह्वान गरेकोछ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयमा सन् २००७ देखि सञ्चालनमा रहेको केन्द्र मार्फत विदेशस्थित दक्ष जनशक्तिलाई नेपालको विकास प्रक्रियामा साझेदारी गर्न अनुरोध गर्दै
दूतावासले आज एक सुचना जारि गरेकोछ।

दुतावासको सुचनामा उल्लेख भएअनुसार, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान, कानुन, शिक्षाशास्त्र, वित्त, वाणिज्य लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिक वा संस्थाहरूलाई आफ्नो विवरण दर्ता गराउन अनुरोध गरिएको छ।

विदेशमा रहेका यस्ता दक्ष जनशक्तिले नेपाली सरकारी निकाय तथा गैर सरकारी निकायसँग सहकार्य गरि विकासको विविध योजना तथा कार्यक्रमहरूमा योगदान पुर्‍याउन सक्नेछन्। नेपाल सरकारले बिश्वमा चलिरहेका आधुनिक बिकास र सामाजिक रुपान्तरणका अभियानमा संलग्न आफ्ना नागरिक एबम गैर आबासीय नेपाली नागरिकको दक्षतालाई देश बिकास अभियानमा जोड्न खोजेको हो।

प्रतिभा प्राप्ति केन्द्रले प्रवासी नेपाली समुदायमा रहेका डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, सूचना प्रविधि विज्ञ, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, शोधकर्ता, कानुनविद्, उद्यमी, सामाजिक अभियन्ता तथा अन्य विषय विज्ञहरूसँग सम्बन्ध कायम गर्न चाहेको छ। यस्ता व्यक्तिहरूको पहिचान र तथ्यांक भएमा आगामी दिनमा देशको आवश्यकता अनुसार उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न सहज हुने बिश्वास गरिएकोछ।

यस प्रयोजनका लागि इच्छुक नेपाली नागरिक वा एनआरएनहरुले दूतावासद्वारा उपलब्ध गराइएको QR कोड प्रयोग गरी आफ्नो विवरण अनलाइनमार्फत दर्ता गराउनु पर्नेछ।

दूतावासले यो अभियानलाई सूचनाको युगमा एक सकारात्मक अभ्यासका रूपमा लिएको छ, जसले नेपालको ज्ञान अर्थतन्त्र (knowledge economy) निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

दूतावासले प्रवासी नेपालीहरूलाई आह्वान गर्दै भनेको छ, “तपाईंहरूको सिप र अनुभव नेपालका लागि बहुमूल्य सम्पत्ति हो । यस अभियानमार्फत हामी देश र विदेशको दूरीलाई सूचना प्रविधिको माध्यमबाट घटाउँदै, नेपाली प्रतिभालाई राष्ट्रिय अभियानसँग जोड्न चाहन्छौँ।”

यो अभियानले विश्वभर रहेका नेपालीहरूलाई आपसमा जोड्ने, सरकार र डायसपोराको दक्ष जनशक्ति बीच सेतु निर्माण गर्ने तथा देशको समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा राखिएको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले बताउनुभएकोछ।

Leave A Reply

Your email address will not be published.