एनआरएनएको बिबाद समाधान नगरी हुने कुनै पनि भेला वा अधिबेशनमा मेरो सहमति छैन ,
राम प्रताप थापा, संस्थापक उपाध्यक्ष एनआरएनए,
गैर आबासीय नेपालि संघका संस्थापक उपाध्यक्ष राम प्रताप थापाले संस्था आन्तारिक बिबादले लाखौ नेपालीहरुको आस्थामा खेलबाड भएको बताएका छन।
सनिबार एक बिज्ञप्ति प्रकाशित गर्दै एनआरएनएका भिष्मपितामह भनेर प्रवासमा चिनिने थापाले व्यक्तिगत आग्रह, पूर्वाग्रह वा रणनीतिक लाभका लागि संस्थाको विधान मिचेर आयोजना गरिने कुनै पनि अधिवेशन वा भेलामा आफ्नो सहमति नहुने बताएका छन्।
उनले नेपालको समृद्धिको दूरदृष्टि लिएर स्थापित भएको एनआरएनएले आफ्नो २२ औं वार्षिकोत्सव मनाउन लागेको यो महत्वपूर्ण मोडमा संस्थाभित्रको बिबाद र स्वार्थि प्रबृत्तिले आफूलाई गम्भीर चिन्तामा पारेको उल्लेख गरेका छन्।
थापाले विज्ञप्तिमा , ‘संघको आन्तरिक विषयमा सर्वोच्च अदालतले दिएको ऐतिहासिक एकता फैसला र त्यसपछि साउन महिनामा आएको अर्को आदेशलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बेला दुर्भाग्यवश ती निर्णयहरूलाई व्यक्तिगत स्वार्थअनुसार तोडमोड गरी व्याख्या गरिनु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण छ भन्दै यही सन्दर्भमा आगामी मे ३ मा आयोजना हुने भनिएको एकता महाधिवेशनमा मेरो कुनै संलग्नता छैन भन्ने स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गरेकाछन्।
अदालतको आदेशको हवाला दिएर बद्रि केसी पक्ष र शेष घले पक्षले गर्न थालेको भेला वा अधिबेशन दुबैले बर्तमान परिस्थितिमा एकतालाई बल नपुर्याउने बताउदै थापाले यस खाले क्रियाकलापमा आफ्नो संलग्नता नरहेको जानकारी गराएकाछन्।
उनले शेष घले संयोजक रहेको उच्चस्तरीय समितिबाट गरिएको निर्णयमा आफ्नो संलग्नता नरहेको भनेकाछन्।
उनले सो निर्णयहरूलाई वैधानिक नठान्ने र संस्थाका पूर्वपदाधिकारी, राष्ट्रिय समितिहरू, संस्थापक सदस्यहरू तथा वर्तमान कार्यसमितिको सहभागिताबिना आयोजना हुन लागेको अधिवेशनलाई केवल विधानविपरीत मात्र नभई संघको आत्मासँग पनि प्रतिकूल रहेको बताएका छन्।
विभिन्न सामाजिक सञ्जाल, सञ्चार माध्यमहरू र इमेलमार्फत आफ्नो नाम र तस्वीरको दुरुपयोग गर्दै भ्रम फैलाइएकोप्रति गहिरो आपत्ति रहेको थापाले बिज्ञप्तिमा उल्लेख गरेकाछन्।
संस्थाको स्थापना कालदेखि नै व्यक्तिगत स्वार्थभन्दा माथि उठी, नेतृत्वको आकांक्षा त्यागेर म सधैं एकताको पक्षमा उभिँदै आएको छु। आगामी दिनहरूमा पनि म संस्थाभित्रको दीर्घकालीन र समावेशी एकताका लागि इमान्दार र लचिलो रहि रहनेछु। तर, व्यक्तिगत स्वार्थका लागि डायसपोरालाई विभाजित बनाएर एनआरएनएको नाममा विधानको उल्लंघन गर्दै गरिने कुनै पनि अधिवेशन वा भेलामा मेरो सहमति रहने छैन।’
थापाले आपसी कलह छोडेर गैरआवासीय नेपाली संघको विधान, सर्वोच्च अदालतका दुवै ऐतिहासिक निर्णयको मर्म र भावनाअनुसार संस्थाभित्र दिगो र समावेशी एकता कायम गरौ भन्ने शुभेच्छासहित नेपाल सरकार तथा विदेशस्थित सम्पूर्ण गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल गर्दछु भनेकाछन्।
एनआरएनएको चौथो अधिबेशनमा अध्यक्ष घोषणा भएर पनि संस्थामा बिबाद बढ्ने भए पछि थापाले अध्यक्ष पद छोडेर त्याग गरेका थिए , जसका कारण बिश्वभरका नेपालीले उनलाई सम्मान गर्ने गरेकाछन्।