एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै “नेपाल बेल्जियम दिवस” मनाएकोछ। नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दात्रि संस्थालाई सम्मान गरिएको हो।
सो अवसरमा दात्रि संस्थाका पदाधिकारीहरु संग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभब र स्थलगत कठिनाईका बारेमा अन्तरक्रिया पनि गरिएकोछ।
नेपाल बेल्जियम डे समारोहको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दीप प्रज्वन गरि संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत लम्सालले नेपाल र बेल्जियमको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन दुई देशका सांस्कृतिक मुल्य मान्यताको सम्मान हुनु पर्छ भन्नु भयो। नेपाली डायसपोराका गतिविधिले नेपाललाई विश्वमा चिनाउने काम गरेको छ, नेपालीहरु जहा रहे पनि शान्ति र सद्भाव बाढेर बसेका छन् भन्नु भयो। जनस्तरको सम्बन्ध र मित्रतालाई बलियो बनाउन बेल्जिक दात्रि संस्थाले गरेको योगदानलाई दुताबास र नेपाल सरकारले उच्च मुल्यांकन गरेको उहाले बताउनु भयो।
लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानीले नेपाली नयां बर्षको शुभकामना दिदै लुभेन सहरमा रहेका नेपालीहरु उदाहरणीय छन् भन्नु भयो। आफ्नो कला संस्कृतिको संरक्षण गर्दै यहाको समाजमा घुलमिल भएर नगरलाई उन्नत बनाउन योगदान गरेकामा नेपालीहरुको प्रसंशा गर्नुभयो।
एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले नेपालका दुर्गम क्षेत्रमा नेपाली जनताको सेवा गरेका दात्रि संस्थाका प्रतिनिधिहरुलाई सम्मान गर्न, अनुभब र सुझाब सुन्न पाउदा खुसि लागेको बताउनु भयो। साथै तपाईहरुले गरेको काम प्रति बेल्जियमको नेपाली समुदाय सधै कृतज्ञ रहने छ र अबका दिनमा सहकार्यका लागि तत्पर हुनेछ भन्नु भयो।
कार्यक्रममा लुभेन नगरपालिकाका उपमेयर दिर्क भानसेना, नगरपालिका सदस्य सुर्य ढकाल लगायतले नयाँ बर्षको शुभकामना दिनुभएको थियो।
नेपाली र बेल्जियमका राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा नेपाली बालबालिकाहरुले नेपाली संस्कृति झलकाउने पोशाक सहित लोक सांस्कृतिक नृत्य प्रस्तुत गरेर अतिथिहरुलाई मनोरंजन गराएका थिए।
एनआरएनए आईसीसी सदस्य एबम कार्यक्रम संयोजक मदन दवाडीले अतिथिहरुलाई स्वागत गर्दै नेपाल बेल्जियम डे को अबधारणा र उद्यस्य बारेमा जानकारी गराएर बिषय प्रवेश गराउनुभएको थियो ।
एनआरएनए बेल्जियम उपाध्यक्ष कासी दनैले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै बेल्जियमको नेपाली समुदाय र नेपालका मित्र बेल्जिक नागरिक बीच सहकार्य र साझेदारी बढाउने कार्यक्रम आयोजनाको उद्यस्य रहेको बताउदै त्यसका लागि सुझाबको अपेक्षा राखिएको बताउनु भएको थियो।
अन्तरक्रियामा उपस्थित बेल्जिक संघ संस्थाका प्रतिनिधिहरुले नेपालमा समाजसेवा गर्दाका आफ्ना अनुभब कठिनाइका बारेमा चर्चा गरेका थिए। उनीहरुले नेपाली दुतावास र एनआरएनए मार्फत हुन सक्ने सहयोगको अपेक्षा राख्दै सहकार्यका लागि अनुरोध गरेका थिए ।
बेल्जियममा पहिलो पटक आयोजित यस खाले कार्यक्रमले नेपालका लागि काम गरेका बेल्जिक नागरिकहरुलाई उत्शाहित तुल्याएको र अझ सक्रिय भएर नेपालमा शिक्षा, स्वास्थ्य, जनचेतना र राहतका लागि कार्य गर्न उर्जा मिलेको उनीहरुले बताएका थिए।
नेपाली पत्रकार पंचम अधिकारी, सांग्रिला समाजका अध्यक्ष नारायण अधिकारी लागायतले नेपाली सामाजिक संस्था संग मिलेर काम गर्न बेल्जिक दाताहरुलाई सुझाब दिनुभएको थियो।
अन्तरक्रियामा आएका सुझाबलाई मनन गरेर नेपाली दुतावासले आगामी दिनमानबेल्जिक दात्रि संस्थाहरुलाई सहजीकरण गर्ने दुतावासका द्वितीय सचिब रोस कार्कीले प्रतिबद्धता जनाउनुभएको थियो।
उपमहासचिव राजेन्द्र कार्कीले नेपाल परिचय सहितको श्रव्यदृश्य प्रस्तुत गरेको कार्यक्रमको संचालन लाक्पायांजी शेर्पाले गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु गंगाधर गौतम, प्रेम गुरुङ, लोक दाहाल र चित्र सुबेदी, आइसीसी सदस्य भिम सुबेदी हरि भट्टराई, ब्रुगे नगरपालिका सदस्य प्रज्ञा तिमिल्सिना, लुभेन नगपालिका उपप्रमुख बर्थ कोर्नेली लगायत नेपाली दुतावासका अधिकारीहरु र नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम दोश्रो सत्रमा नेपालका चर्चित लोक गायक पशुपति शर्माले आफ्ना गीतमा उपस्थित दर्शकलाई नचाउदै मनोरंजन गराउनु भएको थियो ।
सांस्कृतिक कार्यक्रमको संयोजन सदस्य रमेश सापकोटाले गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रमबाट संकलन भएको रकम म्यानमारमा हालै गएको बिनासकारी भुकम्प पिडितलाई बेल्जियम बस्ने नेपालीभाषी बर्मेलीहरु मार्फत सहयोग गर्ने एनआरएनए बेल्जियमले जनाएकोछ।
कार्यक्रममा उपस्थित नेपाली समुदाय र बेल्जिक नागरिकहरुले नेपाली खाना संगै नयाँ बर्षको शुभकामना आदान प्रदान गरेर नयाँ बर्षको उत्सब मनाएका थिए।