काठमाडौँ – सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका अध्यक्ष सहितको टोली एकताको अधिवेशन सफल बनाउने उद्देश्यका साथ विभिन्न एनसीसीहरुको भ्रमणमा रहेको छ । सोहि क्रममा एनआरएनए पोर्तुगलले घलेसंग अन्तरक्रिया सम्पन्न गरेकोछ।
समितिका संयोजक डा. शेष घले नेतृत्वको टोलीले मध्यपूर्वको युएई, बेलायत, बेल्जियम, डेनमार्क, पोर्चुगल लगायतका देशमा एनसीसीहरुले गरेको कार्यक्रममा मे ३–५ को अधिवेशनको बारेमा जानकारी गराएको छ ।
सुरुमा युएईमा आयोजित कार्यक्रममा सहभागी भएको टोली त्यसपछि बेलायत, डेनमार्क, बेल्जियम हुँदै पोर्चुगल पुगेको अबसरमा एनसीसी पोर्तुगलले घले लगायतका अभियन्ताहरुलाई स्वागत तथा सम्मान गरेको हो।
एनआरएनए पोर्तुगल द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष घलेले उच्चस्तरीय समितिका १३ जना सबैको उत्तिकै अधिकार भएको बताए । उनले अदालतको फैसला कार्यान्वयन गर्ने काम परराष्ट्र मन्त्रालयको भएको पनि प्रस्ट पारे । ‘हामीले नेपालमा गएर नयाँ विधान बनाउने हो । एनआरएनएको विधान आउटडेटेड भई सक्यो । यो संस्था ग्रो भएन । मेरो कार्यकालमा भिजन २०२० ल्यायौँ, तर कार्यान्वयन भएन ।
अदालतले सदस्यता वितरण, डेलिगेट्स छनोट र निर्वाचन प्रणालीमै समस्या देखायो । एकता मात्रै हैन विवाद रहित अधिवेशन गराउनु भन्यो । अब सुधारिएको हैन, साँच्चिकै नयाँ विधान बनाउनु पर्यो । यस्तो परमादेश फेरि नआउला । अब चुनौती हैन, अवसर मात्रै हेरौँ,’ अध्यक्ष घलेले भने ।
अहिले पनि एमआइएस सिस्टममा पहुँच नहुँदा अप्ठेरो भएको बताउँदै घलेले भने ‘ म आफू अस्ट्रेलियाको आजीवन सदस्य भएर पनि आफ्नै डेटामा एक्सेस पाएको छैन ।’ समितिका सदस्यहरूले ३१ मार्चभित्र एकता महाधिवेशनमा प्रतिनिधि पठाउने गरी तयारी गर्न आग्रह गरे ।
कार्यक्रममा उच्चस्तरीय समितिका सदस्यहरू कुल आचार्य, जानकी गुरुङ, विनोद कुँवर, तथा अभियन्ताहरू आरके शर्मा, गंगाधर गौतम, चिन्तामणि सापकोटा, थर्क सेन लगायतको सहभागिता रहेको थियो ।
उपस्थित एनआरएनए पोर्तुगलका सदस्यहरुले उच्चस्तरीय समितिसँग आफ्नो देशमा भइरहेका गतिबिधि र संस्थाको एकताका लागि आफ्नो प्रतिबद्ता जानकारी गराएका थिए ।
एनआरएनए पोर्तुगलकि अध्यक्ष दीपा काफ्लेको बिशेष आग्रहमा पोर्तुगलमा धेरै नेपाली श्रमिक नेपाली दाजुभाई लाई सुख दुःखमा सहयोग पुगोस भनेर आपतकालीन कोषका लागि १० हजार युरोको कोष स्थापना गर्न आफूले सहयोग गर्ने बताए । साथै, उक्त कोषलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्न तयार रहेको उनले बताए ।
समितिका सदस्य विनोद कुँवरले पनि नेपाली समुदायको सहयोगका लागि १,१०० युरो प्रदान गरेका छन् । उक्त रकम एनआरएनए पोर्चुगल मार्फत समस्यामा परेकाहरूका लागि खर्च गरिने अध्यक्ष काफ्लेले बताउनु भएकोछा।
संघकी अध्यक्ष दीपा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका पूर्वसंरक्षक दिल गुरुङ, संघका पूर्वकेन्द्रीय उपाध्यक्ष थर्क सेन, एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा, संघका केन्द्रीय सह–कोषाध्यक्ष तिलक गैरे, एनआरएनए अभियन्ता गंगाधर गौतम, एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालल, पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वअध्यक्ष सोमफुरी शेर्पा, उपाध्यक्ष सुजन लामा, महिला संयोजक सरिता शर्मा, कार्यवाहक महासचिव दिपेश बिष्टलगायतले मन्तव्य राखेका थिए ।