गैरआवासीय नेपाली संघका संस्थापक एवम् अभियन्ता गंगाधर गौतमले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै काठमाडौँमा यही अक्टोबर २७ र २८ मा आयोजना गर्न लागिएको भनिएको साधारण सभालाई बहिष्कार गर्न अपिल गरेका छन्। सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै एक समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै उनले यस कार्यक्रम प्रति असहमति व्यक्त गरेका हुन्।
गौतमका अनुसार, एनआरएनएको १० औँ महाधिवेशनपछि उत्पन्न असहज परिस्थितीलाई एकीकृत गर्न ११ औँ महाधिवेशन गर्ने दायित्व संघमा थियो, जसका लागि मिहिन अध्ययनपछि एकीकृत र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको बताइएको छ। तर तत्कालीन समयमा सहमति कार्यान्वयन नगरेर बद्री केसी समूहले अनलाइन भोटिङ प्रणालीमा कब्जा गर्दै संघलाई तीन खेमामा विभाजन गरेको उनले आरोप लगाए।
गौतमले भने, “हाल एनआरएनएको आवश्यकता भनेको सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशानुसार महाधिवेशन सम्पन्न गर्नु हो। त्यसको विपरीत बद्री केसी पक्षधरले काठमाडौँमा अनधिकृत कार्यक्रम आयोजना गर्दै गैरआवासीय नेपालीद्वारा संकलित रकमको दुरुपयोग गरी पाचँतारे होटलमा ककटेल पार्टी र डिनरको आयोजना गर्ने काम गरिरहेको छ।”
गौतमले यस्ता गतिविधि संघको सचिवालयले सहयोग गरे संघले त्यस्ता गतिविधिलाई प्रतिरोध गरिने पनि चेतावनी दिएका छन्। साथै, उनले गैरआवासीय नेपालीहरुको एकता कायम गर्न सबैलाई आग्रह गर्दै नेपालका मुख्य दलहरूलाई पनि यस विवाद समाधानमा पहल गर्न अपिल गरेका छन्।
प्रधानमन्त्री र अन्य उच्च पदाधिकारीलाई उक्त अनधिकृत कार्यक्रममा सहभागी नहुन समेत अनुरोध गर्दै गौतमले, “प्रधानमन्त्रीज्यूले परराष्ट्र मन्त्रालय समेतको निर्देशनको अपहेलना हुनेगरी सहभागी भएमा हाम्रो असहमति र विरोध हुनेछ,” भनेका छन्।
गौतमले पाँच वर्षदेखि विवादग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसरलाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन्।