लामिछानेलाई पक्राउ गरिएको बिरोधमा ज्ञापन-पत्र, पोखराका आन्दोलनकारीलाई पानी पिलाउन स्वतन्त्र प्रवासी नेपाली संपर्क मंच बेल्जियमले चन्दा उठाउदै ,

0

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएकोमा बिरोध गर्दै ज्ञापन पत्र बुझाएकोछ । लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएकोले त्यसको भर्त्सना गर्दै नेपाल सरकारसँग उनको तत्काल रिहाइको माग गरेर नेपाल राजदूतावास, ब्रसेल्समार्फत ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा भनिएको छ कि संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको कुनै संलग्नता नरहेको पुष्टि गरिसके पछि पनि सोही मुद्दामा उहाँलाई पक्राउ गर्नु सरकारको राजनीतिक पूर्वाग्रहको स्पष्ट प्रमाण हो।

ज्ञापनमा थप उल्लेख छ कि सभापति लामिछानेलाई अनावश्यक रूपमा पक्राउ गरी सहकारी घोटालामा ८७ अर्बको अपचलन गर्ने दोषीहरूलाई उन्मुक्ति दिन खोजिएको स्पष्ट हुन्छ। यसबाहेक, गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स, वाइडबडीजस्ता घोटालाहरूमा लिप्त दलहरूले नयाँ राजनीतिक अभियानमाथि आक्रमण गर्ने प्रयास गरेको बताइएको छ। मञ्चले यी घटनाहरूलाई ढाकछोप गर्न सभापति लामिछानेको गिरफ्तारी गरिएको दाबी गरेको छ।

यस प्रकारको परिस्थितिमा परिवर्तन चाहने देशभित्र वा विदेशमा रहने सम्पूर्ण नेपालीहरु भ्रष्टाचारविरुद्ध एकजुट हुनुपर्ने र यस्ता घृणित राजनीतिक षड्यन्त्रहरूको सामना गर्न सचेत रहनुपर्ने आवश्यकता स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले औंल्याएको छ।

मञ्चले पोखरामा सभापति लामिछानेको गिरफ्तारीविरुद्ध भइरहेको आन्दोलनमा आफ्नो ऐक्यबद्धता प्रकट गरेको छ। साथै, बेल्जियममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले आन्दोलनमा सहभागी हुनेहरूको लागि पिउने पानी उपलब्ध गराउन आर्थिक संकलन गरिरहेको जानकारी पनि दिइएको छ।

Leave A Reply

Your email address will not be published.