भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ

0

काठमाडौं – सशस्त्र प्रहरी बलका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।

उनीहरुसहित २२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार (रकम हिनामिना) मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो । प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले ‘मिसिल संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको’ फैसला गर्दै प्रतिवादीहरूलाई सफाई दिएको हो। २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) वन्त पदबाट निलम्बन भएपछि २०७२ माघ १८ मा उनीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको थियो । पूर्व आईजीपी श्रेष्ठसहित ४ जनाविरुद्ध माघ २४ मा मुद्दा दायर गरिएको थियो। वलीसहित ३ जनाविरुद्ध माघ २९ र बस्नेतसहित ७ जनाविरुद्ध फागुन १७ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

Leave A Reply

Your email address will not be published.