नेपाली दुतावास बेल्जियमको आयोजनामा ब्रसेल्समा अन्तर्राष्ट्रिय आरोग्य दिवस हुने भएकोछ। यहि अप्रिल १५ तारिख बुधवार दिउसो दुई बजे युरोपियन युनियनको यसियन अध्ययन केन्द्रमा आयोजना गरिएको आरोग्य दिवस समारोहमा बिभिन्न देशका राजदुतहरु, युरोपियन युनियन र बेल्जियम सरकारका प्रतिनिधि एबम नेपाली समुदायको उपस्थिति रहने दुतावासले जनाएकोछ।
दुतावासले ब्यबस्थापन सहजता र सिमित स्थानका कारण नेपाली संघ संस्थाहरुलाई दुतावासले जारि गरेको क्युआर कोड वा इमेल मार्फत रजिस्ट्रेसन गरिदिन अनुरोध गरेकोछ ।
संयुक्त राष्ट्रसंघमा नेपालले पेश गरेको अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताब पारित भए पछि पहिलो पटक नेपाल सरकार, अन्य देशका सरकारहरु एबम मानब स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका निकायहरु र विदेश स्थित नेपाली नियोगहरुले बिभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरि मनाउदैछन ।
नेपालले पेश गरेको प्रस्ताबमा ” स्वस्थ्यले जीवनको गुणस्तर बढाउन, मानिसको गरिमा संरक्षण गर्न र प्रत्येक मान्छेले आफ्नो पूर्ण क्षमता महसुस गर्न सक्षम बनाउनको लागि व्यक्तिगत र समुदायगत क्रियाकलापलाई प्रोत्साहित गरेर दिगो जीवनशैलीका लागि स्रोतहरू सुरक्षित गर्ने एउटा महत्वपूर्ण मार्गको रूपमा काम गर्छ भन्ने स्वीकार गर्दै, सस्तो, समावेशी र पहुँचयोग्य स्वस्थ्य अभ्यासहरू प्रवर्द्धन गर्नका लागि आरोग्य दिवस मनाएर जनचेतना फैल्याउन सकिनेछ” भनिएको थियो।
नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउने योजना अनुसार जीबन बिज्ञानका आचार्य एलपी भानु र रमेश नेपाल लगायत सरोकारवालाहरुको पहलमा नेपाल सरकारले विश्व आरोग्य दिवस मनाउन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको थियो।
ध्यान,योग र आयुर्बेदको उद्गम भुमि नेपालले कोलाहलमा हराइरहेका आजका मानिसलाई मानसिक शान्ति र चेतनाको बिकासका लागि आरोग्य रहन प्रेरित गर्नुका साथै यसलाई पर्यटनको मूलमन्त्र बनाउन बिशेष अभियानको थालनी गर्न लागेको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले बताउनुभएकोछ।
आरोग्यका आधारस्तम्भ मानिने योग, ध्यान, प्रकृति, संस्कृति, आत्मिय व्यवहार र जडीबुटीले सम्पन्न नेपालले पर्यटन प्रबर्धनका लागि मौलिक प्याकेजका रुपमा वितरण गर्न सक्छ । हिमाल र पहाडका काखहरूमा र घर घरमा प्रयोग हुने बिधि पद्धतिलाई पर्यटकहरुलाई बाढेर आफ्नो मौलिक परम्परा मार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने विज्ञहरुले बताएकाछन ।