पृथ्वीनारायण शाह यदि राजा नभइदिएका भए…

0



निमकान्त पाण्डे
नेपालको माटो सुहाउूदो राजनीतिक दर्शनका प्रणेता शायद पृथ्वीनारायण शाह जति दूरदर्शी नेपालको धर्तीमा अर्काे कुनै राजनेता जन्मिएको छैन भन्दा पनि अत्युक्ति नहुने देखिएको छ । पृथ्वीनारायण शाह राजाको हैसियतमा नभइदिएका भए विश्व इतिहासमै दार्शनिक व्यक्तित्वका रूपमा लेखिन्थे होला । तर दुर्भाग्य नै भन्नुपर्छ राजाको हैसियत भएका कारण पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले सामन्तको अभियानको नाम पाएको छ ।
यथार्थमा नेपालको एकीकरण राजाको पहलमा भए पनि एकीकरण भएकै हो भन्ने कुरामा कसैको दुईमत छैन । राजा बाहेक अरुले एकीकरण गरेका भए ऊ गैरसामन्त हुने तर एकीकरणको नायकत्व गरेकै कारण पृथ्वीनारायण शाहले सामन्तको उपाधी पाउनु उनको निम्ति दुर्भाग्य हो । पछिल्लो चरणमा नेपाल संघीय संरचनामा प्रवेश गर्ने प्रयासमा छ । यो प्रयास गर्भवती महिलाको प्रश्रव वेदनाभन्दा पनि अत्याशलाग्दो भइरहेको छ ।
राजा पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ मात्र भनेनन्, उनले नेपाललाई सयौं थुंगा पूmलको पूmलबारी पनि भन्न भ्याएका थिए । आज जातीय पहिचानका आधारमा संघीयताको आवाज चर्काे भइरहेको छ । जात–जातका नामबाट राज्य बनाइयो भने निश्चय पनि जातीय सद्भाव खल्बलिने छ । जातीय सद्भाव बनाउन पृथ्वीनारायण शाहले गरेको योगदान अविस्मरणीय छ ।
२०६२/०६३ को जनआन्दोलनपछि जातीय सद्भाव भत्किएको अवस्थामा देखिंदैछ । हुन त जनआन्दोलनका एजेण्डा जातीय संघीयता भन्ने थिएन नै, तैपनि त्यसपछि क्रमिक रूपमा सुरु भएको जातीय संघीयताको आवाज निकै चर्काे बन्दै गएको छ । नेपाली जनताले यसको मूल्य चुकाउन निकै मुश्किल हुने देखिंदैछ ।
हुनत राजसंस्थाको चर्को विरोध गर्नेहरूले पनि राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई अस्वीकार गर्न सकेका छैनन् । पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण नगरेका भए अरु कसैले पनि गर्न सक्थ्यो भन्ने खालका तर्कहरू पनि आउने गरेका छन् । तर आजको राजनीतिक अवस्थालाई मध्यनजर गर्दा पृथ्वीनारायण शाहले एकीकरण नगरेका भए नेपाल बनाउने अर्काे कुनै व्यक्ति खडा हुन सक्थ्यो भनेर कल्पना गर्न सकिंदैन ।
नेपालका राजनीतिक दलहरू कसरी जन्मिए ? यी दलहरूले देश र जनतालाई के दिएका छन् ? राजनीतिक दलहरूले केही वर्ष यो देश सग्लो रहन दिए भने सायद कसैले विवेचना गर्ला ! तर देश विखण्डनको होडमा पुगेको छ । देशलाई बिखण्डनबाट बचाउन निकै मुश्किल सम्भावना देखिंदैछ । बिखण्डनका स्वरहरू निकै चर्काे रूपमा गुञ्जिंदै छन् । बिखण्डनकारीहरू अपत्यारिलो किसिमले संगठित भइरहेका छन् । स्थिति अत्यन्त जटिल बन्दै गइरहेको छ । राजनीतिक दलहरू आफ्नो राजनीतिक अदर्शभन्दा धेरै टाढा दौडिरहेका छन् । यी दलहरलाई खबरदारी गर्ने शक्ति देशमा छैन ।
दश वर्षसम्म वर्गसंघर्षको नारामा सशस्त्र युद्धको नायकत्व गरेका प्रचण्डले यतिबेला जातीय संघीयताको वकालत गर्दै तराई क्षेत्रका सामन्तहरूसँग गठबन्धन गरिरहेका छन् । आश्चर्यलाग्दो र विश्वास गर्नै नसकिने खालको गठबन्धनले कस्तो परिणाम देला ? परिकल्पना गर्न कठिन छैन । हिजो नेपाली कांग्रेसको राजनीतिमा लागेर सबैभन्दा कुख्याती कमाएका मात्र नभई अनेरास्ववियुका विद्यार्थीको हत्याको समेत अभियोग लागेका विजयकुमार गच्छदारजस्ता व्यक्तिसँग प्रचण्डको गठबन्धन बन्नु पत्याउन सकिने विषय होइन । त्यसैगरी नेपाली कांग्रेसकै राजनीति गर्ने क्रममा पटक–पटक मन्त्री बनेर भ्रष्टाचारी ठहर भएका जयप्रकाश गुप्ताजस्ता पात्रसमेत प्रचण्डको गठबन्धनमा बाँधिन पुगेका छन् । अझै उदेकलाग्दो व्यक्तित्व अमरेशकुमार सिंह छन् । यी विवादास्पद व्यक्तित्वसमेत प्रचण्डको जातीय पहिचानसहितको संघीयतामा सहयात्री बन्न पुगेका छन् ।
प्रचण्डको गन्तव्य कता होला ? उनको वर्गीय राजनीतिक धरातल कता गइरहेको छ ? किन यसरी राजनीतिक विचलन देखा परेको छ प्रचण्डमा ? के पृथ्वीनारायण शाहकोे नेपाल एकीकरण अभियान गलत थियो भन्ने सावित गर्नका लागि प्रचण्डले यसो गरिरहेका हुन् त ? प्रश्नहरू अनुत्तरित छन् ।
यथार्थमा संघीयता, जातीय स्वतन्त्रता, लैंगिक तथा भाषिक स्वतन्त्रता, अग्रगमन, आमूल परिवर्तन, नागरिक सर्बोच्चता, सैनिक सर्बोच्चता आदिजस्ता शब्दहरू नेपालको राजनीतिमा दशवर्षे सशस्त्र युद्धकालमा सुनिएका थिएनन् । २०६२/०६३ को जनआन्दोलनपछि यस्ता शब्दहरू निकै प्रयोगमा आइरहेका छन् । तर, नैतिकताको पराकाष्टा नाघेर राष्ट्रियतालाई दक्षिणतर्फ बुझाउने कसरतमा यी शब्दहरूको दुरूपयोग भइरहेको छ । आज अमरेशकुमार सिंहजस्ता व्यक्तिले माओवादीका एजेण्डाहरूको पक्षमा वकालत गर्न पुग्नुले यसको पुष्टि गर्दछ ।
नेपालका वामपन्थीहरूले विरोधीमाथि प्रहार गर्ने शब्दहरू सामन्त, विदेशी दलाल, प्रतिगमनकारी, यथास्थितिवादी, परिवर्तन विरोधी आदि हुन् । तर यी सबै शब्दहरूले विभूषित भएका मधेस केन्द्रित राजनीति गरिरहेका व्यक्तिहरूसँग प्रचण्डको सामीप्यताको कारण खोजी गर्नुपर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.