नेपाली बालबालिकालाई नेपालीपन सिकाउन, स्विडेनको स्टकहोल्ममा देउसी–भैलो,
नबिन थपलिया, स्टकहोल्म (स्विडेन), अक्टोबर २५, २०२५,
नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीको अवसरमा स्विडेनको राजधानी स्टकहोल्ममा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा अभिभावक र बालबालिका गरी करिब १०० जना सहभागी थिए।
कार्यक्रम विशेषगरी स्विडेनमा हुर्किँदै गरेका नेपाली बालबालिकाहरूलाई नेपाली संस्कृति, भाषा र चाडबाडप्रति जोड्ने उद्देश्यका साथ आयोजना गरिएको थियो।
बालबालिकाले देउसी–भैलोका गीत, नृत्य, र खेलकुदमा सक्रिय सहभागिता जनाउँदै नेपालीपनको झल्को प्रस्तुत गरेका थिए। कार्यक्रममा हाजिरीजवाफ र कहुट क्विज लगायतका मनोरञ्जनात्मक प्रतियोगिताले बालबालिकासँगै अभिभावकको पनि ध्यान तानेको थियो। विशेष गरी बालबालिकाको लागि खेलाइएको हाजिरीजवाफ प्रतियोगिता निकै नै रोचक र ज्ञानवर्धक बनेको थियो, जसमा निर्णायक मण्डलको रूपमा नवीन थपलिया र नवराज रेग्मी रहनुभएको थियो।
विशेष आकर्षणको रूपमा बालबालिकाले आफैं सञ्चालन गरेको कार्यक्रममा अभिभावकहरूले समेत उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमका संयोजक रिना ढकालका अनुसार, प्रतियोगिताका विजेता, उपविजेता तथा सान्त्वना प्राप्त बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो।
साथै, नेपालको सांस्कृतिक परम्परालाई जीवित राख्ने उद्देश्यले तयार गरिएको “दक्षिणा थाली”बाट कुल १६,४८६ स्विडिस क्रोनर संकलन गरिएको थियो। सो रकम बालबालिकाको विकासका लागि विभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रममार्फत खर्च गरिने संयोजक ढकालले जानकारी दिनुभयो।
आयोजकहरूले कार्यक्रममा सहयोग र सहभागिता जनाउने सम्पूर्ण अभिभावक, स्वयंसेवक तथा समुदायका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।
स्विडेनमा हुर्किँदै गरेका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने यो कार्यक्रम सहभागी सबैका लागि प्रेरणादायी र स्मरणीय बनेको बताइएको छ।