‘कूटनीतिमा तीन दशक’ देशका लागि मार्गदर्शक

0

नेपाल राजनीतिक परिवर्तनमा सफल भए पनि कूटनीतिमा असफल रहेको टिप्पणी धेरैले गर्ने गरेका छन् । यतिबेला छिमेकी मित्रराष्ट्र भारतले गरेको नाकाबन्दीपछि यो टिप्पणी ज्वलन्त बनेको छ । मुलुकले लोकतान्त्रिक विधिअनुसार निर्माण गरेको संविधानविरुद्ध विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिने भारतले नाकाबन्दी लगाएको छ । सरासर अन्यायमूलक देखिने भारतको यो कदमविरुद्ध अन्तर्राष्ट्रिय माहोल सिर्जना गर्न सरकारले सकेको छैन । उल्टै भारतले नाकाबन्दीको पक्षमा अन्तर्राष्ट्रिय माहोल सिर्जना गरेको देखिएको छ ।   नेपालका लागि यो भन्दा ठूलो कूटनीतिक असफलता अर्को हुन सक्दैन ।
कूटनीति भनेको पनि राजनीति जत्तिकै महत्वपूर्ण विधा रहेछ भन्ने कुरा अहिलेको युगमा पुष्टि भइसकेको छ । कतिपय देशहरूले कूटनीतिको क्षेत्रमा आफ्नै ढंगका पाठ्यसामग्री तयार गरेर आफ्नो मुलुकअनुकूलको जनशक्ति तयार गरिरहेका छन् । लामो कूटनीतिक परम्परा बोकेका मुलुकहरूले आफ्ना अनुभवहरूलाई समेटेर मार्गचित्र बनाएका छन् । तर विश्वका पुराना मुलुकहरूमध्येको नेपालले न त कूटनीतिक क्षेत्रमा आफ्नो मुलुक सुहाउँदो पाठ्यक्रम तयार गरी जनशक्ति उत्पादन गर्ने  गरेको छ, न त कूटनीतिक क्षेत्रका अनुभवीहरूसँग अन्तरक्रिया गरेर मार्गचित्र तयार गरेको छ । कूटनीतिको क्षेत्रमा लामो समय बिताएका विज्ञहरू मुलुकमा नभएका होइनन्, तर ती विज्ञहरूले पनि आफ्नो अनुभवलाई समेटेर पुस्तक लेख्ने जाँगर देखाएका छैनन् ।
नेपालका लागि कस्तो कूटनीति उपयुक्त हुन्छ ? भन्ने विवरण समेटिएको पहिलो कृति भनेको पृथ्वीनारायण शाहको दिव्योपदेश हो । जुनबेला पृथ्वीनारायण शाहको दिव्योपदेश अभिलेखका रूपमा आयो, त्यसबेला विश्वका थोरै मुलुकले मात्रै व्यवस्थित कूटनीतिक माध्यमद्वारा आफ्नो देशलाई अघि बढाएका थिए । तर करिब दुई सय वर्षको यो अवधिमा विश्वका अन्य मुलुकहरू कूटनीतिको क्षेत्रमा कहाँबाट कहाँ पुगे, तर हाम्रो मुलुकले दिव्योपदेशमा भएका मार्गचित्रलाई समेत अनुशरण गर्न सकिरहेको छैन ।
राजनीतिक क्षेत्रमा काम गर्नेहरूले कूटनीतिक क्षेत्रको अध्ययनमा चासो नदिनु र कूटनीतिक क्षेत्रमा काम गर्नेहरूले आफ्ना अनुभवलाई लिपिबद्ध नगर्नु नै यो समस्याको मूल कारण हो । तर पछिल्ला दिनमा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डे, सरदार यदुनथा खनाल, मोहनकृष्ण श्रेष्ठलगायतका केही विद्वान कूटनीतिज्ञहरूले त्यो रिक्ततालाई थोरै मात्र भए पनि भरथेग गर्ने प्रयास गरेका छन् । दूरदर्शी राजनीतिज्ञ बीपी कोइरालाको आत्मवृत्तान्तमा पनि गहन कूटनीतिक अनुभवहरू समेटिएका छन् । तर, मोहनकृष्ण श्रेष्ठले हालै प्रकाशमा ल्याएको ‘कूटनीतिमा तीन दशक’ नामक पुस्तक मुलुकको कूटनीतिक इतिहासमा महत्वपूर्ण कोशेढुंगो हो ।
उनको यो पुस्तक प्रकाशन हुनु भनेको मुलुकको कूटनीतिक क्षेत्रमा निकै ठूलो उपलब्धि हो । कूटनीतिक क्षेत्रमै ३० वर्ष बिताएका श्रेष्ठले आफ्ना अनुभवलाई समेटेर करिब चार सय पृष्ठको पुस्तक तयार गरेका छन् । जुन पुस्तक कूटनीतिक क्षेत्रमा काम गर्ने र काम गर्न इच्छा राख्नेहरूका लागि हाते किताब जस्तै हो । हुन त कूटनीति क्षेत्रमा विदेशी लेखकहरूका कृतिहरू धेरै पाइन्छन् । तर कूटनीति भनेको यस्तो विषय हो, जो आफ्नै देशको मौलिक हुन्छ । विदेशीले लेखेको पुस्तक ज्ञान आर्जनका लागि सहायकसिद्ध होला, तर आफ्नै मुलुकको स्वार्थका लागि भने स्वदेशी लेखकको पुस्तकबाट ज्ञान आर्जन गर्नुको विकल्प रहँदैन ।  यस मानेमा श्रेष्ठले ठूलै खाँचो पूर्ति गरिदिएका छन् ।
सायद  मुलुकका कूटनीतिज्ञहरूमध्ये सबैभन्दा धेरै अनुभवी श्रेष्ठ नै हुन् । लगातार ३० वर्ष कूटनीतिक क्षेत्रमा बिताएका विज्ञहरू मुलुकमा थोरै मात्रै छन् ।  तिनै सीमित विज्ञमध्ये पनि श्रेष्ठले आफ्नो ज्ञान र अनुभवलाई पुस्तकका रूपमा प्रकाशन गरेर मुलुकका लागि भावीपुस्ताका लागि मार्गदर्शन दिएका छन् । मुलुकको जिम्मेवारी बहन गर्दै विश्वका ५० भन्दा धेरै देश भ्रमण गरेका लेखक श्रेष्ठले ती देश पुग्दाको अनुभव मात्रै समेटेका छैनन्, ती देशसँग कस्तो किसिमको कूटनीतिक सम्बन्ध राख्न उपयुक्त होला र ती देशसँग कूटनीतिक सम्बन्ध राख्दा हाम्रो मुलुकले कस्तो लाभ लिन सक्छ ? भन्ने मार्गदर्शनसमेत पुस्तकमा पस्केका छन् । साथै, उनले पुस्तकमा आफ्नो कार्यकालमा मुलुकसँग जोडिएका महत्वपूर्ण अन्तर्राष्ट्रिय चासोहरू तथा प्रकरणहरूसमेत उल्लेख गरेका छन् । खासगरी तत्कालीन राजा ज्ञानेन्द्र शाहको विनाप्रयोजनको तीन साता लामो अफ्रिका भ्रमण र  २०६२-६३ को जनआन्दोलन सम्पन्न भएलगत्तैका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका भित्री पाटाहरूलाई पुस्तकमा ज्यादै रोचक ढंगबाट पस्केका छन् । धेरैले थाह नपाएका घटनाहरू समेटिएका कारण पुस्तक ज्ञानवद्र्धक मात्रै छैन, सूचनामूलक पनि छ । त्यो सूचना कूटनीतिक क्षेत्रमा काम गर्नेहरूका लागि मात्रै नभएर सम्पूर्ण जनताका लागि संग्रहणीय छ ।
मुलुक भनेको त्यहाँभित्र बसोवास गर्ने सम्पूर्ण जनताको साझा घर हो । विश्वका अरु घरहरूको अवस्था, आफ्नो घर र अरु घरहरूसँगको सम्बन्ध, अरु घरहरूले आफ्नो घरलाई हेर्ने दृष्टिकोणबारे परिवारका हरेक सदस्यले थाहा पाउनु जरुरी हुन्छ । यो मानेमा लेखक श्रेष्ठको ‘कूटनीतिमा तीन दशक’ हरेक नेपालीले आफ्नो घरमा एक प्रति राख्नैपर्ने पुस्तक हो । तर हतारमा लेखिएका कारण हुन सक्छ, पुस्तकमा अनावश्यक प्रसंगहरू सम्पादन हुन सकेका छैनन् । भाषिक सम्पादन अत्यन्त गरिब भएका कारण   पढ्नेक्रममा हरेक पृष्ठमा दाँतमा ढुंगा लागेको जस्तो हुन्छ । आगामी संस्करणमा यस्ता त्रुटिहरू सच्चिने आशा राख्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.