कांग्रेस सभापतिका आकांक्षी ९ जना

0

आगामी फागुनमा हुन लागेको नेपाली कांगेसको १३औं महाधिवेशनमा सभापतिका आकांक्षी नौ जना पुगेका छन् । तीमध्ये केहीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले भित्रभित्रै तयारी अघि बढाएका छन् ।  महाधिवेशनमा सभापति सुशील कोइराला पुनः उम्मेदवारी दिने योजनामा छन् । औपचारिक रूपमा केही नबोले पनि उनले आफूनिकटलाई सभापतिमा उठ्नुपर्छ भन्दै दबाब दिलाउन थालेका छन् । उनले दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्ती, आनन्दप्रसाद ढुंगाना, डा. मीनेन्द्र रिजाललगायतका नेताहरूमार्फत सभापतिका लागि आवश्यक वातावरण बनाउन लागेका छन् । आफ्नो चाहनाभन्दा सबैको चाहनाले पुनः सभापतिमा उम्मेदवार बन्नुपरेको सन्देश दिन कोइरालाले भित्रभित्रै गृहकार्य बढाएका हुन् ।सोही कारण उनले निकटमार्फत देशभरको स्थितिबारे अध्ययन गरिरहेका छन् । पुनः उम्मेदवारी दिँदा जित्ने स्थिति छ कि छैन भनेर अवस्था आँकलन गर्न थालेको कोइरालानिकट एक नेताले बताए ।
वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सभापतिका लागि तयारी तीव्र बनाएका छन् । देउवाले बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर आफ्नो अवस्था मजबुत बनाउन अभियान थालेका हुन् । यस पटक जुनसुकै अवस्थामा पनि सभापति जितेरै छाड्ने योजनाका साथ देउवासहित उनीनिकट नेताहरू अघि बढेका छन् । संस्थापन समूहमै रहेका उपसभापति रामचन्द्र पौडेलले पनि सभापतिमै उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्लाजिल्ला पुगेर पौडेलले कार्यकर्तासँग मत माग्न थालेका हुन् । वर्तमान सभापति कोइरालाको समर्थनमा आफूले उम्मेदवारी दिन लागेको पौडेलले बताउने गरेका छन् । उनले जिल्ला स्तरीय नेताहरूसँग गोप्य भेटघाट पनि बढाएका छन् ।
पौडेलले तयारीकै क्रममा कोइराला क्याम्पसँगै देउवा पक्षधर नेताहरूसँग पनि सम्पर्क बढाएका छन् । पौडेलले अब सभापतिबाट पछि हट्न नसक्ने गरी तयारी अघि बढिसकेको बताउन थालेका छन् । उनले अनामनगरमा सम्पर्क कार्यालय खोली तयारी तीव्र बनाएका छन् ।
त्यसो त केही नेताले महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भित्रभित्रै सभापतिको तयारी अघि बढाएको दाबी गरिरहेका छन् । यद्यपि, यसबारे उनले औपचारिक रूपमा केही बोलेका छैनन् । सिटौलानिकट नेताहरू भने उनले सभापतिमा उम्मेदवारी दिने तयारी सुरु गरेको बताउँछन् । अर्का महामन्त्री प्रकाशमान सिंहले पनि सभापतिमै उम्मेदवारी दिने आकांक्षा राखेको उनीनिकट नेताले बताएका छन् । सिंहले पनि यसबारे केही बोलेका छैनन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । उनले सार्वजनिक रूपमा नै सभापति वा महामन्त्रीमध्ये एक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘१३औं महाधिवेशनमा सभापतिमा वा महामन्त्रीमा उम्मेदवारी दिन्छु, अहिले साथीहरूसँग सल्लाह गरिरहेका छु, केही दिनमै उम्मेदवारी घोषणा गर्छु,’ केसीले भने । उनले कांग्रेसमा छुट्टै गुटसमेत बनाइसकेका छन् ।
यस्तै, नेतृ सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । १३औं महाधिवेशनमा महिलालाई अगाडि बढाउनुपर्ने भन्दै कोइरालाले अनौपचारिक रूपमा भोटसमेत माग्न थालिसकेकी छन् । ‘१३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा छु, यस पटक महिलाले पार्टीको नेतृत्व गर्ने अवसर पाउँछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ कोइरालाले भनिन् । उनी जिल्लाजिल्ला पुगेर कार्यकर्तासँग मत माग्नसमेत सुरु गरिसकेकी छन् । उनले आफ्नो टिमसमेत बनाइसकेकी छन् ।
केन्द्रीय सदस्य डा. रामशरण महतले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । उनीनिकट नेताका अनुसार सभापतिमा उम्मेदवारी दिने भन्दै अवस्था बुझ्न महतले आग्रह गरेका छन् । अर्का नेता डा. सशांक कोइरालाले पनि सभापतिमा दाबी गरिरहेका छन् । वर्तमान सभापति सुशीलले उम्मेदवारी दिएको अवस्थामा भने उनले निःसर्त समर्थन गर्ने बताएका छन् । तर, सुशीलले नदिएको अवस्थामा आफू सभापति बन्ने भन्दै भित्रभित्रै तयारी सुरु गरेको सशांकनिकट नेताहरू बताउँछन् । यद्यपि, वर्तमान सभापति कोइराला पुनः उम्मेदवार बन्नेमा देउवा र उनीबिच प्रतिस्पर्धा हुने अधिकांश कांग्रेस नेताहरूको भनाइ छ ।
अघिल्लो महाधिवेशनमा एक पटकका लागि भन्दै मत मागेका कारण कोइरालाले आफू पुनः उम्मेदवार बन्न र पौडेललाई रोक्न महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मलाई सभापतिमा दाबी गराई डमी उम्मेदवार बनाएको उनीहरूको मत छ । ‘चुनाव हुने सुशील कोइराला र शेरबहादुर देउवाबिच नै हो, अन्य नाम पदाधिकारीमा उठ्न हो,’ कोइरालानिकट एक सदस्य भन्छन् ।

Leave A Reply

Your email address will not be published.