अख्तियारको कारबाहीप्रति नेता नेपालको आपत्ति

0

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अख्तियारको कारबाहीप्रति कडा आपत्ति जनाउनुभयो ।
नेता नेपालले प्रश्न सुन्ने बित्तिकै भन्नुभयो, “अति भो !” अख्तियारले सरकारी ओहोदामा रहेर अकूत कमाउनेलाई केही नगर्ने तर संलग्न नै नभएको व्यक्तिलाई मुछेर के गर्न खोजेको ? उहाँले प्रश्न गर्नुभयो । निजी व्यापार गरेका र कुनै पनि अख्तियार दुरुपयोग नगरेका व्यक्तिलाई बिनाकारण मुछ्नु गलत भएको उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा नेता नेपालले सदियौँदेखिको नेपाल–भारत सम्बन्धलाई सुमधुर पार्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्दै ऋषिमन बनाएर नाकाबन्दी खोल्न आग्रह गर्नुभयो । हामी नेपाली अरूको मामिलामाथि हस्तक्षेप गर्दैनौँ भन्दै उहाँले भन्नुभयो–“अरूले हस्तक्षेप गरेको पनि हामीलाई मन पर्दैन ।”
बाह्रबुँदे सहमति पनि भारतीय शासकको रोहवरमा नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेपाली प्रवासीको निवास र भारतीय कम्युनिस्ट पार्टीहरुसँग बसेर सहमति भयो, तर त्यहाँका शासकसँग हामीले सम्झौता गरेनौँ ।” अहिलेको संविधान मधेसमैत्री भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, “यो संविधानमा जे जति आयोग बनेका छन् यो मधेसकै पक्षमा छ ।” मधेसी, मुस्लिम, थारू, दलित, महिला आयोग सबै आयोग मधेसीको पक्षमा रहेको भन्दै उहाँले दुई नम्बर प्रदेशले सिङ्गो मधेसीहरुको भावनाको सम्मान गरेको बताउनुभयो ।
उहाँले संविधान बढी समावेशी रहेको र अधुरो नभएको दाबी गर्नुभयो । भारतप्रति इङ्गित गर्दै उहाँले प्रश्न गर्नुभयो, नेपाली जनताको अत्यधिक सहभागिताबाट संविधान बनाउनु के नेपालको अपराध हो ? मधेसीको आन्दोलनबाट सबैभन्दा बढी मधेसी नै प्रभावित भएको भन्दै उहाँले भन्नुभयो, “समस्या झन् गहिरिएको छ, कष्ट बढी मधेसीले व्यहोर्नु परेको छ, के यो जायज हो ?”
भारतबाट हुँदै आएको आपूर्तिको १५ प्रतिशत मात्रै आयात नेपालमा अहिले भएको भन्दै उहाँले यसले आर्थिक क्षेत्र अस्तव्यस्त बनेको, उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्र सङ्कटग्रस्त भएको बताउनुभयो । नेपालीहरु अर्काको दूतावास धाएर बिग्रिएको बताउँदै उहाँले यो रोग राम्रो नभएको भन्दै नेपालको मामिलामा सल्लाह लिन विदेशीकहाँ जान नहुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.