देशमा बढ्दो अशान्तिलाई, शान्ति र संवादमार्फत समाधान गर्न गौतमको आग्रह,

0

काठमाडौं ,गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान प्रवक्ता गंगाधर गौतमले केहि दिन देखि मधेशमा विकसित असहज वातावरण, बढ्दो सामाजिक ध्रुवीकरण तथा त्यस क्रममा भएका झडप, हत्या, आगजनी र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार एक वक्तव्य जारी गर्दै गौतमले नागरिकको जिउधनको सुरक्षा तथा शान्ति–सुव्यवस्था कायम गर्न राज्य संयन्त्र र प्रहरी प्रशासन प्रभावकारी नहुदा आम नागरिकले राज्यविहीनताको अनुभूति गर्नुपरेको भन्दै यस अवस्थालाई दुःखद र चिन्ताजनक भएको उल्लेख गरेका छन्।

उनले नेपालको लोकतान्त्रिक व्यवस्था र संविधानले सामाजिक न्याय, समावेशिता, आपसी भाइचारा तथा शान्तिपूर्ण सहअस्तित्वमा आधारित समाजको परिकल्पना गरेको स्मरण गराउँदै भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताबीचको एकता नै नेपाली समाजको मौलिक पहिचान भएको बताएका छन्।

पछिल्ला हिंसात्मक घटनाले नेपालको ऐतिहासिक सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात पुगेको वक्तव्यमा उल्लेख गरिएको छ। साथै घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जय प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

गौतमले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेका छन्।

त्यस्तै उनले हिंसा, आगजनी र द्वन्द्वले कसैको हित नगर्ने उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न समुदाय तथा आम नागरिकलाई संयम अपनाई सामाजिक सद्भाव, भाइचारा र सहिष्णुता कायम राख्न आग्रह गरेका छन्।

उनले देखिएका असमझदारी र असन्तोषलाई हिंसात्मक माध्यमबाट नभई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्न सबै सरोकारवाला पक्षसँग आह्वान गर्दै प्रवासमा रहे पनि मातृभूमिको शान्ति, राष्ट्रिय एकता र समृद्धिप्रति आफूहरू सधैं प्रतिबद्ध रहने बताएका छन्।

Leave A Reply

Your email address will not be published.