दक्षिण एसियाको सनातन हिन्दू परम्परामा सबैभन्दा बढी चर्चा, विवाद र आलोचनाको केन्द्र बनेको ग्रन्थमध्ये “मनुस्मृति” अग्रस्थानमा पर्छ। आधुनिक युगमा समानता, मानव अधिकार, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा उभिएका धेरै समाज सुधारक, दार्शनिक र चिन्तकहरूले मनुस्मृतिको कडा आलोचना गरेका छन्। विशेषतः जातीय विभेद र सामाजिक असमानतालाई वैधानिक आधार दिएको आरोपले यस ग्रन्थलाई धेरै विवादित बनाएको छ।
तर अर्को पक्ष जसमा भारतीय जनता पार्टीको मातृ संस्था आरएसएस र नेपालका कट्टरपन्थी बाहुनबादीहरु लगायतले मनुस्मृतिलाई एक दुई वटा विवादित श्लोकका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित नहुने मान्यता राख्छन । यो ग्रन्थलाई यसको २००० बर्ष अगाडिको ऐतिहासिक सन्दर्भ, उद्देश्य र सम्पूर्ण विषयवस्तुसहित अध्ययन गर्नु पर्ने उनीहरुको तर्क रहने गरेकोछ।
वास्तवमा, मनुस्मृति माथिको बिबाद र बहसलाई आजको समयमा धर्म वा दर्शनको विषय मात्र नबनाई इतिहास, राजनीति, समाजशास्त्र र सभ्यताको अध्ययनसँग जोडेर हेरियो भने सामाजिक बिकासमा यसको सकारात्मक वा नकारात्मक असरको सहि ब्याख्या गर्न सकिएला।
परम्परागत मान्यताअनुसार मनुस्मृति राजा मनुले आफ्नो राज्य सञ्चालनका लागि तयार पारेको आचारसंहिता वा विधिशास्त्र हो। यसमा राजाको कर्तव्य, प्रजाको अधिकार, न्याय प्रणाली, दण्ड व्यवस्था, सामाजिक संरचना तथा नागरिकका जिम्मेवारीबारे चर्चा गरिएको छ।
मनुस्मृति वेद वा उपनिषद् जस्तो श्रुति ग्रन्थ होइन। यो स्मृति परम्परामा पर्ने ग्रन्थ हो। “स्मृति” शब्दको अर्थ नै स्मरण गरिएको ज्ञान हो। धार्मिक परम्पराअनुसार साधना र अनुभूतिबाट प्राप्त ज्ञानलाई लिखित रूप दिइएको ग्रन्थलाई स्मृति मानिन्छ ।राजा मनुले उनले प्राप्त गरेको वैदिक ज्ञान र त्यो ज्ञान मार्फत साधना गरेपछि जे कुरा उनले पाए अथवा जे कुरा स्मरण भयो, त्यसलाई उल्लेख गरेर बनाएको किताब भएकोले यसलाई मनुस्मृति भनिन्छ।
धेरै इतिहासकारहरूको मतअनुसार ब्रिटिस शासनअघि भारतीय उपमहाद्वीपमा एउटै ग्रन्थका आधारमा सम्पूर्ण हिन्दू समाज सञ्चालन भएको थिएन। विभिन्न क्षेत्र, राज्य र समुदायमा फरक–फरक कानुनी तथा सामाजिक परम्पराहरू प्रचलित थिए र सोहि अनुसार समाज संचालित थियो।
ब्रिटिस ईस्ट इन्डिया कम्पनीले भारतमा शासन विस्तार गरेपछि हिन्दू समाजको कानुनी आधार खोज्ने प्रयास गर्यो। त्यतिबेला केही संस्कृतविद् र पण्डितहरूले मनुस्मृतिलाई हिन्दू विधिशास्त्रको प्रतिनिधि ग्रन्थका रूपमा प्रस्तुत गरे। त्यसपछि ब्रिटिस प्रशासनले हिन्दू कानुनको व्याख्या गर्ने प्रमुख स्रोतका रूपमा यसलाई प्रयोग गर्न थाल्यो। यही घटनाले मनुस्मृतिलाई अभूतपूर्वरुपमा बिबादित बनायो र प्रसिद्धि दिलायो।
“एक पटक कल्पना गरौ त ! यदि श्रीमद भागवत गीतालाई सामाजिक दर्शन मानेको भए आजको पूर्वीय समाज कस्तो हुन्थ्यो होला ?”
मनुस्मृतिको सबैभन्दा विवादित पक्ष जातीय विभेदसँग सम्बन्धित केही श्लोक हुन्। विशेषतः शूद्रले वेद सुने, उच्चारण गरे वा कण्ठस्थ गरे कठोर दण्ड दिनुपर्ने उल्लेख भएको श्लोक (अथ हास्य वेदमुपशृण्वतस्त्रपुजतुभ्यां श्रोत्रप्रतिपूरणम्, उद्घारणे जिह्वाच्छेदः धारणे शरीरभेदः = सुद्रले बेद सुने कानमा बालुवा घोलेर कान बन्द गरिदिनु, पढे जिब्रो काटिदिनु र कण्ठस्थ गरे सरिर नै दुई टुक्रा बनाइदिनु ) लाई लिएर व्यापक आलोचना हुँदै आएको छ।
कतिपय अध्येताहरूले यसलाई ब्रिटिसहरूको “Divide and Rule” अर्थात् विभाजन गरेर शासन गर्ने नीतिसँग यसको बिबादित सुत्र भएका कट्टर उपदेशलाई जोडेर हेर्ने गरेका छन्। किन भने १९सौ सताब्दिका विद्वान जुलियस जालीले यसको अंग्रेजी अनुबाद गर्दा सुद्रको जिब्रो काट्ने श्लोक टिकाको रुपमा जोडेका हुन् भनेर तत्कालिन प्रसिद्ध सामाजिक अनुसन्धानकर्ता प्याट्रिक ओलेबेले लेखेकाछन। त्यस पछी पनि धेरै विद्वानहरुको मनुस्मृति बारे एकमत छैन।
आजको मानव अधिकार, समानता र संवैधानिक मूल्यका आधारमा संचालित समाजमा यस्ता प्रावधान कुनै पनि रूपमा स्वीकार्य हुन सक्दैनन । यही कारण मनुस्मृतिलाई दलित तथा पिछडिएका समुदायमाथिको ऐतिहासिक विभेदको वैचारिक आधार मान्ने धारणा बनेको हो।
केही आधुनिक अनुसन्धानकर्ताहरूले उपलब्ध विभिन्न पाण्डुलिपिहरूमा फरक फरक श्लोक रहेको बताएका छन्। उनीहरूको दाबीअनुसार आज प्रचलित केही विवादित श्लोकहरु मूल ग्रन्थमा नभई पछि थपिएका हुन भन्ने गरेकाछन।
मनुस्मृतिको टिप्पणी,सम्पादन र पाण्डुलिपि अध्ययन गर्ने केही विद्वानहरूले विभिन्न संस्करणबीचको भिन्नताबारे प्रामाण सहित आफ्नो दाबि प्रस्तुत गरेका छन्। संस्कृतविद् र इतिहासकारहरूले उपलब्ध प्राचीन पाण्डुलिपिहरूमा यी श्लोकहरू नभएको र पछि यसको सम्पादन र टिप्पनिकर्ताहरुले थपेको बताएका छन्।
अर्थात् यो विषय अहिले पनि अनुसन्धान र बहसकै क्षेत्रभित्र पर्छ। त्यसैले कुनै एक धारणा मात्र अन्तिम सत्य हो भनेर दाबी गर्नु बिबाद गर्नु उपयुक्त हुँदैन।
मनुस्मृतिमा जातीय व्यवस्थाबारेका विवादित अवधारणासँगै राज्य सञ्चालन, प्रशासन, न्याय, कर प्रणाली, दण्ड व्यवस्था, अनुशासन, राजाको उत्तरदायित्व तथा सामाजिक व्यवस्थापनसम्बन्धी अनेक विषय पनि समेटिएका छन्।
कतिपय विद्वानहरूका अनुसार यी पक्षहरू इतिहास र राजनीतिक चिन्तनको अध्ययनका लागि महत्त्वपूर्ण सामग्री हुन्। त्यसैले सम्पूर्ण ग्रन्थलाई एउटै दृष्टिकोणबाट अस्वीकार गर्नु पनि अनुसन्धानको दृष्टिले उचित नहुन सक्छ।
यसको अर्थ विवादित प्रावधानलाई स्वीकार गर्नुपर्छ भन्ने होइन; बरु इतिहासलाई आलोचनात्मक र वस्तुनिष्ठ दृष्टिले पढ्नुपर्छ भन्ने हो।
लोकतान्त्रिक युगमा कुनै पनि ग्रन्थभन्दा माथि संविधान, मानव अधिकार र समान नागरिकताको सिद्धान्त हुन्छ। जन्मका आधारमा विभेद गर्ने वा कुनै वर्गलाई ज्ञान, शिक्षा वा अवसरबाट वञ्चित गर्ने विचार आजको सभ्य समाजका लागि कुन अर्थमा पनि स्वीकार्य हुन सक्दैन।
तर इतिहासका दस्तावेजलाई पूर्ण रूपमा अस्वीकार गर्नु पनि समाधान होइन। इतिहासका ग्रन्थहरूले समाजले कुन बाटो हिँड्यो, कहाँ गल्ती गर्यो र कसरी परिवर्तन सम्भव भयो भन्ने बुझ्न मद्दत गर्छन्। त्यसैले मनुस्मृतिलाई श्रद्धा वा घृणाको आँखाले मात्र होइन, इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा मात्र हेर्ने कि ?
मनुस्मृति निस्सन्देह हिन्दू सभ्यताको सबैभन्दा विवादास्पद ग्रन्थमध्ये एक हो। यसले शताब्दीयौँदेखि प्रशंसा र आलोचना दुवै भोग्दै आएको छ। यसभित्र राज्य सञ्चालन र सामाजिक व्यवस्थापनसम्बन्धी केही ऐतिहासिक विचारहरू छन् भने जातीय विभेदलाई समर्थन गर्ने मानिएका प्रावधानहरू पनि छन्, जसलाई आधुनिक लोकतान्त्रिक समाजले स्वीकार गर्न सक्दैन।
त्यसैले मनुस्मृतिको मूल्याङ्कन आग्रह वा पूर्वाग्रहका आधारमा होइन, प्रमाण, इतिहास र विवेकका आधारमा गर्न सके विभेदको न्यायशास्त्र बनेको यस पुस्तकको बास्तबिकता प्रष्ट होला ।
कुनै पनि ग्रन्थलाई बुझ्ने सबैभन्दा राम्रो उपाय त्यसलाई आफैँ अध्ययन गर्नु, विभिन्न विद्वानहरूको व्याख्या तुलना गर्नु र आलोचनात्मक चेतनाका साथ निष्कर्ष निकाल्नु हो। यही दृष्टिकोणले समाजमा अनावश्यक ध्रुवीकरण घटाउन र तथ्यमा आधारित बहसलाई प्रोत्साहन गर्न सक्छ।