इयु टि20 क्रिकेट लिग खेल्न आएका नेपाली खेलाडी र नेपाली समुदाय बेल्जियम बीच अन्तरक्रिया,

0

एन्टवर्पेन, बेल्जियम। EUT20 अन्तर्गत बेल्जियम क्रिकेट लिगमा सहभागी हुन बेल्जियम आइपुगेको नेपाली क्रिकेट टोलीसँग पत्रकार सम्मेलन तथा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम भएकोछ। शुक्रबार एन्तवेरपेनमा भएको कार्यक्रममा नेपाली खेलाडीहरु र जेभी ब्रुगेका पदाधिकारीहरुले ईयु टि20 क्रिकेट लिगका बारेमा जानकारी गराउनुका साथै बेल्जियमको नेपाली समुदायको साथ र सहयोगका लागि अनुरोध गरेका थिए ।

 

नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) र नेपाल पत्रकार महासंघ बेल्जियमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघ–संस्था, व्यवसायी, पत्रकार, खेलप्रेमी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) का अध्यक्ष श्री कासी दनैले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई फूलको गुच्छा प्रदान गर्दै स्वागत गर्नुभएको थियो। कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै अध्यक्ष दनैले छोट्टो समयमा आह्वान गरिएको कार्यक्रम उपâस्थित सबैलाई धन्यबाद सहित खेल सफलताको शुभकामना दिनुभयो।

त्यसैगरी नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष श्री ओम शर्माले खेलाडीहरूलाई खादा लगाई सम्मान गर्नुभएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (NRNA) बेल्जियमका अध्यक्ष कमल पन्थीले नेपाल विश्वमा केवल सगरमाथा र गौतम बुद्धको नामबाट मात्र नभई क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय रूपमा परिचित बन्दै गएको बताउनुभयो। उहाँले नेपाली क्रिकेटको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्दै EUT20 प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी सफलता हासिल गर्ने शुभकामना दिनुभयो।

 

त्यसैगरी खेलाडी संघ बेल्जियमका कार्यवाहक अध्यक्ष  मिन क्षेत्रीले नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरूको मनोबल उच्च राख्न सम्पूर्ण नेपाली समुदाय एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो।

 

कार्यक्रमका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले प्रतियोगितासम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै खेलाडीहरूलाई आगामी खेलका लागि शुभकामना व्यक्त गरेका थिए।

सम्राट गौतम,यामु निरौला,सुदर्शन सिंखडा, ध्रुब सिंखडा, सुबाश जोशी, कबिता सिंखडा दाहाल, पत्रकार दिल्ली अम्माई लगायतका वक्ताहरूले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रालाई अझ सशक्त बनाउन विश्वभर रहेका नेपाली समुदायको निरन्तर साथ, समर्थन र उत्साह आवश्यक रहेकोमा जोड दिएका थिए।

 

कार्यक्रमको सञ्चालन नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव श्री भुवन सुवेदीले गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल पत्रकार बेल्जियमका अध्यक्ष ओम शर्माले गर्नुभएको थियो।

 

कार्यक्रमको अन्त्यमा अध्यक्ष शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव, पत्रकार, स्वयंसेवक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै, शनिबारदेखि प्रारम्भ हुने EUT20 प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.