नेपाली व्यवसायी संघ बेल्जियमको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ।हेरेन्तको कार्पिनस होटेलमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चिरन कुमार खवासले आफ्नो कार्यकालको समीक्षा डिजिटल प्रस्तुत गर्दै संस्थाले ३ बर्षका लागि अघि सारेको २१ बुँदे लक्ष्य मध्ये १८ वटा लक्ष्य पूरा भएको जानकारी गराउनुभयो।
बाँकी योजनाहरू नयाँ कार्यसमितिले सफलतापूर्वक अघि बढाउने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकहरुलाई सहयोग र सहकार्यका लागि धन्यवाद ज्ञापन गर्नुभयो। नेपाली फूड फेस्टिबललाई नेबाबको ट्रेडमार्क बनाएर अझ ब्यबस्थित परिणाममुखी बनाउन नयाँ कार्यसमितिलाई सुझाब दिनुभयो।
नव-निर्वाचित अध्यक्ष काशी दनैले आफ्नो कार्यकालका लागि आगामी कार्ययोजना प्रस्तुत गर्दै अग्रजहरूको सुझाव र मार्गदर्शन अनुसार संस्थाले गर्दै आएका महत्वपूर्ण योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले व्यवसायीहरूबीच सहकार्य, एकता र संस्थागत सुदृढीकरण गरेर नेबाबका प्रत्येक सदस्यलाई लाभ पुग्ने गरि काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । दनैले बेल्जियमको नेपाली समुदायसंग रहेका प्रतिभाहरुलाई ब्याबसायिक बनाउन नेबाबले पहल गर्ने योजना सुनाउनुभयो।
एनआरएनएका केन्द्रिय उपाध्यक्ष लोक दाहालले आफ्ना ब्याबसायिक हक हित वृद्धि गर्न र मातृभूमिका लागि ग्यान सीपपुजी लगानी गर्न अनुरोध गर्दै एनआरएनहरुका बारेमा नेपाल सरकारका नीतिमा सुधारका लागि १०० बुदे सुझाब दिएकोमा अधिकांश लागु भएका र नमिलेका कुरा मिलाउन निरन्तर दबाब दिईरहेको जानकारी गराउनुभयो।
निर्वाचन समिति संयोजक यमु निरौलाले नव-निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै सफल निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। नेबाबका पूर्व अध्यक्ष रहेका निरौलाले नेपाल-बेल्जियम बीच ब्यबसायिक सम्बन्ध बढाउनका लागी यहाका ब्यबसायीहरुले पहल गर्नुपर्छ भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक सल्लाहकार रविन्द्रमान श्रेष्ठले आफ्नो व्यावसायिक अनुभव साझा गर्दै युरोपेली बजारमा नेपाली सामानको सम्भावना र विस्तारका विषयमा प्रकाश पार्नुभयो। उहाँले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न व्यवसायीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी, नेवा युरोपका सचिव मदन दवाडीले व्यवसायलाई विविधिकरण गर्नुपर्ने, सामूहिक लगानीको अवधारणालाई अघि बढाउनुपर्ने र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । दवाडीले नेबाबको प्लेटफर्मबात आफुले धेरै कुरा सिकेको र अब आफ्ना अनुभब नेबाब मार्फत बाढेर सहयोग गर्ने चाहाना छ भन्नु भयो।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले व्यवसायिक नैतिकता, पारदर्शिता तथा दीर्घकालीन सोचका साथ व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँले नेपाली समुदायको आर्थिक सशक्तिकरणमा व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा बेल्जियमस्थित नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो सत्र निबर्तमान सचिब बाबुराम शर्मा र दोश्रो सत्र नबनिर्बाचित महासचिब भुवन सुबेदीले संचालन गर्नुभएको थियो। अतिथिहरुलाई उपाध्यक्ष रमेश दाहालले स्वागत गर्नुभएको थियो।


