“आम्स्तरदममा नमस्ते नेपाल फेस्टिबल”- नेपाली कला, संस्कृतिको युरोपमा उपलब्धिमुलक प्रदर्शन,

0

नेपाली कला, संस्कृति, पर्यटन तथा राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेदरल्याण्ड्सको आम्स्टर्डममा ‘नमस्ते नेपाल फेस्टिभल २०२६’ सम्पन्न भएको छ।

नेपाली समुदाय तथा आम्स्तरदम नगरपालिकाको सहकार्यमा आयोजित फेस्टिभलले नेपाली संस्कृति, पर्यटन र आध्यात्मिक परम्पराको प्रवर्द्धनसँगै नेपाल र नेदरल्याण्ड्सबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

आम्स्टर्डम सहरको केन्द्रबाट पञ्चेबाजा, नेपाली झण्डा तथा परम्परागत नेपाली पोसाकसहितको सांस्कृतिक र्याली निकालेर फेस्टिभलको सुरुवात गरिएको थियो। नेपाली तथा विदेशी सहभागीहरूले नेपालको झण्डासहित शहर परिक्रमा गरेका थिए।

र्यालीको क्रममा सुरक्षा र आवागमन व्यवस्थापनका लागि स्थानीय प्रशासनले केही समय बस तथा ट्राम सेवा समेत रोकेको थियो।

दिनभर सञ्चालन भएको फेस्टिभलमा नेपाली कला–संस्कृति झल्किने झाँकी, विभिन्न जातीय तथा भाषिक समुदायका सांस्कृतिक नृत्य, नेपाली संगीत, योग तथा आध्यात्मिक कार्यक्रम प्रस्तुत गरिएका थिए।

नेपालका हस्तनिर्मित सामग्री, गार्मेन्ट्स, सिङ्गिङ बल तथा अन्य हस्तकलाका सामग्रीका साथै नेपाली खानाका स्टलहरू राखिएका थिए।भुटानिज, सुरीनाम, अफगानिस्तान र मोरक्कोका परिकारहरू पनि महोत्सवमा समावेश गरिएका थिए। बिशेषगरि मुलआयोजक समिती र व्यवस्थापन समितीको गहिरो खटाईमा भएको कार्यक्रममा नेपाल पर्यटन वोर्ड र डच संघसंस्थाहरूको पनि सहभागिता रहेको थियो ।

फेस्टिभलको उद्घाटन बेनेलक्सका लागि नेपालका राजदूत सेवा लम्साल र आम्स्टर्डम नगरपालिका नर्थका प्रमुख इष्टर लेखेनदिलेखले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत लम्सालले नेपाल र नेदरल्याण्ड्सबीचको कूटनीतिक सम्बन्ध तथा जनस्तरको मित्रता निरन्तर बलियो बन्दै गएको बताउनुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार गर्न तथा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

आम्स्टर्डम नर्थका प्रमुख इष्टर लेखेनदिलेखले नेपाली समुदायले स्थानीय समाज र अर्थतन्त्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाली संस्कृति र नेपालको प्राकृतिक सौन्दर्यलाई चिनाउने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली समुदायसँग सहकार्य गर्न नगरपालिका सधैं तत्पर रहने पनि बताउनुभयो।

फेस्टिभलका मूल आयोजक समितिका संयोजक शशी पौडेलले नेपाल र नेदरल्याण्ड्सबीचको सांस्कृतिक सम्बन्धलाई नागरिकस्तरमा अझ बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आम्स्टर्डम नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

कार्यक्रममा हिमालयन ब्याण्डको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो। दर्शकहरूले नेपाली गीत–संगीतमा रमाउँदै उत्साहपूर्वक सहभागिता जनाएका थिए। यस्तै सबु पौडेल र सनद कुलुद्वारा सञ्चालित नादयोग ( सिन्गिंग बल थेरापी) सत्रमा सहभागीहरूले ध्यान र योग अभ्यास गरेका थिए।

फेस्टिभलमा नेपाली कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए भने कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई आयोजक समितिले प्रमाणपत्रसहित सम्मान गरेको थियो।

एनआरएनए नेदरल्याण्ड, नेपाली ब्यबसायी संघ नेदरल्याण्ड, म्युजिक फाउन्डेसन नेदरल्याण्ड, र नेपाल बिकास फाउन्डेसन नेदरल्याण्ड आयोजक रहेको औपचारिक कार्यक्रमको सञ्चालन शर्मिला प्रधान,  सांस्कृतिक कार्यक्रमको संचालन रश्मिता पराजुली र समापन समारोहको संचालन सबु पौडेल र राजेन्द्र शर्माले गर्नुभएको थियो।

कार्यक्रममा एनआरएनेका केन्द्रिय उपाध्यक्ष लोक दाहाल,एनआरएनए नेदरल्याण्डको बर्तनान कार्यकारी अध्यक्ष सबु पौडेल र एकताको सहमति अनुसार निकट भविस्यको अध्यक्ष बिष्णु पोखरेल ,बेल्जियम अध्यक्ष लोकेन्द्र नेपाल, नेपाली ब्यबसायी संघ युरोप संयोजक यामु निरौला, बेल्जियम अध्यक्ष कासी दने, नेपाली ब्यबसायी संघ नेदरल्याण्डका अध्यक्ष संघर्षशील केसी ,लग्जेम्बर्ग अध्यक्ष हरि खत्री सहितका ब्यबसाय र सामाजिक क्षेत्रका अग्रजहरु, नेपालका शुभचिन्तक डच नागरिक, नेदरल्याण्डबासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

आयोजकका अनुसार ‘नमस्ते नेपाल फेस्टिभल २०२६’ नेपाली कला, संस्कृति, पर्यटन, सामाजिक एकता तथा अन्तरसांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ।

महोत्सवले नेपाली समुदायसँगै डच तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको सांस्कृतिक विविधता, आतिथ्यता र समृद्ध परम्पराबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.