ब्रसेल्स, बेल्जियम।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा नेपाली दूतावास, बेल्जियम र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको संयुक्त आयोजनामा विशेष साहित्यिक कार्यक्रम तथा काव्य गोष्ठी सम्पन्न भएको छ।
नेपाली राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल र अनेसास बेल्जियमका अध्यक्ष लोकनाथ शर्माले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको थियो।
उपस्थित साहित्यकार तथा नेपाली समुदायलाई स्वागत गर्दै राजदूत लम्सालले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन अत्यन्त आवश्यक रहेको बताउनुभयो। संसारको जुनसुकै कुनामा बसे पनि नेपालीलाई नेपालीसँग जोड्ने सबैभन्दा बलियो आधार भाषा र साहित्य भएकाले यसको संरक्षण र विकासमा सबैले साझा प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो। यही उद्देश्यका साथ बेल्जियममा क्रियाशील साहित्यकारहरूलाई दूतावासमा आमन्त्रण गरिएको उल्लेख गर्दै उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
राजदूत लम्सालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय सांस्कृतिक चेतनाको विकासमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँले नेपाली समाजलाई सांस्कृतिक तथा राष्ट्रिय एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। साथै यस्ता साहित्यिक कार्यक्रमहरूले प्रवासी नेपाली समुदायबीच आपसी एकता र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिसँग जोड्न अनेसासजस्ता संस्थाहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा अनेसास बेल्जियमका संस्थापक उपाध्यक्ष बिमल गिरीले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा कृतित्वमाथि संक्षिप्त प्रकाश पार्नुभयो। उहाँले संस्कृतमा सीमित रहेको रामायणलाई सरल नेपाली लोकभाषामा अनुवाद गरी जनसाधारणसम्म पुर्याएर भानुभक्तले नेपाली भाषाको विकाससँगै नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो।
अनेसास बेल्जियमका अध्यक्ष लोकनाथ शर्माले नेपाली दूतावाससँगको सहकार्यप्रति आभार व्यक्त गर्दै सहभागी साहित्यकार तथा नेपाली समुदायलाई धन्यवाद दिनुभयो। उहाँले अनेसासले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर साहित्यिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। विशेषगरी प्रवासी नेपाली बालबालिकामा नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिप्रति अपनत्व अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू अझ प्रभावकारी हुने भएकाले आगामी दिनमा अझ व्यापक सहभागितासहित कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको प्रमुख आकर्षण साहित्यकारहरूको कविता तथा गजल वाचन रहेको थियो। कार्यक्रममा लोकनाथ शर्मा, बिमल गिरी, ब्रह्मदत्त वाग्ले, सन्तोष नेउपाने, अच्युत ढकाल, ईश्वर शर्मा, लीलाधर पन्त, कान्ति तिमिल्सिना अधिकारी, सृजना कार्की थापा, जमुना गैरे बास्तोला, ओम शर्मा, भीम सुवेदी, हरि श्रेष्ठ र दीक्षा भट्टराईले देशप्रेम, प्रवासी जीवन, मातृभूमिप्रतिको अनुराग, समसामयिक विषयवस्तु तथा आदिकवि भानुभक्तका सिर्जनामाथि आधारित कविता र गजल प्रस्तुत गर्नुभएको थियो।
यस वर्ष नेपाली दूतावास, ब्रसेल्सले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीलाई विशेष महत्व दिँदै राजदूतको कार्यकक्षमै कार्यक्रम आयोजना गरेको थियो। अनेसास बेल्जियमको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि सरकारी निकाय र साहित्यिक संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। कार्यक्रमपछिको अनौपचारिक छलफलमा पनि यस्ता साझा प्रयासहरू निरन्तर अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।
अनेसास बेल्जियम शाखाका महासचिव सन्तोष न्यौपानेले संचालन गरेको कार्यक्रमको शभापतित्व अध्यक्ष लोकनाथ शर्माले गर्नुभएको थियो। कार्यक्रम बेल्जियम साहित्य प्रेमीहरुका साथै बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

