बेल्जियममा ‘नारी समाज बेल्जियम’ गठन, महिला सशक्तिकरण र नेतृत्व विकासमा जोड,

0

एन्ट्रोपेन, बेल्जियम। बेल्जियममा बसोबास गरिरहेका नेपाली महिलाहरूले महिला सशक्तिकरण, नेतृत्व विकास तथा सामाजिक–सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नारी समाज बेल्जियम’ गठन गरेका छन्।

 

विगत केही समयदेखि एन्ट्रोपेन महानगरपालिकाको परामर्शमा संस्था स्थापनाको तयारी गरिरहेका महिलाहरूले शनिबार एन्ट्रोपेनमा आयोजित चियापान तथा परिचयात्मक कार्यक्रममा संस्थाको औपचारिक सुरुवात गरेका हुन्। कार्यक्रममा सहभागी महिलाहरूले एकअर्कासँग परिचय आदानप्रदान गर्नुका साथै संस्थाको उद्देश्य, भावी योजना र गतिविधिबारे छलफल गरेका थिए।

संस्थाले महिला सशक्तिकरण, नेतृत्व विकास, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको सामूहिक आयोजना, अनुभव आदानप्रदान तथा आवश्यक शैक्षिक एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर बेल्जियमस्थित नेपाली महिलाहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको संस्थाका संस्थापकहरुले जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी भएका दिदीबहिनीहरुले एकअर्कामा रहेका सीप र अनुभवहरू आदानप्रदान गर्ने, समस्यामा परेका महिलालाई सामूहिक सहयोग गर्ने, सामाजिक सहभागिता अभिवृद्धि गर्ने तथा नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विविध सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने विषयमा पनि छलफल गरेका थिए। नेपाली समुदायका बालबालिकाहरुका हरुका लागि बिशेष कार्यक्रम गर्ने पनि उनीहरुको उद्यस्य रहेकोछ।

 

सनिबारको चियापानमा सहभागीहरुले बेल्जियमस्थित नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय र संगठित सहभागिता बढाउने उद्देश्यले गठन गरिएको यस संस्थालाई समुदायले सकारात्मक रुपमा लिएर सहयोग र सहकार्य गरोस भन्ने उनीहरुले बिशेष अनुरोध गरेकाछन।

 

संस्थाको प्रारम्भिक कार्यसमिति जमुना तामाङ (पाल्मो)को अध्यक्षतामा गठन गरिएको छ। कार्यसमितिको सचिवमा भगवती घोरासैनी, सहसचिबमा लक्ष्मी केसी पुन, कोषाध्यक्षमा भगवती पहारी रहेकी छन् भने सदस्यहरूमा सुरक्षा शाही, रिना श्रेष्ठ, अनिता थापलिया, अनिता तामाङ, इन्दिरा मरहठ्ठा र मिना पाण्डे रहेका छन्।

बिगतमा पनि बिभिन्न सामाजिक गतिविधिमा सक्रिय भएर काम गरेका महिलाहरु रहेको यो तदर्थ समितिले कार्यक्रम मार्फतनै आगामी दिनमा अन्य महिलाहरुलाई अभियानमा जोड्दै जाने उद्यस्य राखेकोछ।

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा बेल्जियमभर रहेका अन्य सामाजिक अभियानमा सक्रिय नेपाली महिलाहरूलाई समेत संस्थामा आबद्ध गराउँदै महिला अधिकार, सामाजिक चेतना, सांस्कृतिक संरक्षण तथा समुदायको हितका लागि काम गर्ने प्रतिबद्धता गरेकोछ।

Leave A Reply

Your email address will not be published.