आम्सटर्डम, नेदरल्याण्ड्स।
युरोपमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूलाई संगठित गर्दै सामूहिक हितका लागि काम गर्ने तथा नेपाल–युरोपबीचको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाली व्यवसायी संघ युरोप (NEBA Europe) ले आफ्नो दर्ता प्रक्रिया र विधान तयार भएको जानकारी दिएको छ।
संघले आगामी नोभेम्बरमा लक्जेम्बर्गमा पहिलो अधिवेशन तथा थिम सेमिनार आयोजना गर्ने र युरोप र नेपाल बीचको ब्यापार बिस्तारका लागि नयाँ कार्ययोजना तयार गर्ने बताएकोछ।
नेदरल्याण्ड्सको आम्सटर्डममा आइतबार आयोजित संघको बैठकले नेपाली उत्पादनलाई युरोपेली बजारमा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्दै तत्काल आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
यसका लागि युरोपका विभिन्न देशमा रहेका नेपाली राजदूत, लामो समयदेखि नेपाली उत्पादनको व्यापार गर्दै आएका व्यवसायी तथा विषयगत विज्ञहरूलाई समेटेर विशेष कार्यदल गठन गर्ने र कार्ययोजना तयार गरी सोहीअनुसार अघि बढ्ने सहमति भएको छ।
बैठकमा सहभागीहरूले युरोपमा रहेका नेपाली व्यवसायीहरूको हकहित संरक्षण, उनीहरूलाई आइपर्ने समस्यामा सहजीकरण तथा व्यावसायिक नेटवर्क विस्तारका विषयमा पनि छलफल गरेका थिए।
नेपाली व्यबसायी संघ युरोपका सदस्य सचिब मदन दवाडीले अतिथिहरुलाई स्वागत गर्दै बैठकका एजेन्डाका बारेमा जानकारी गराउनुभएको थियो।
नेबाब युरोपका संयोजक यामु निरौलाले संस्था सथापना भए देखि आज सम्मका गतिबिधि बारे जाकारी गराउदै आगामी कार्ययोजना बनाउनका लागि अधिबेशन संगै थिम सेमिनार गर्ने बिषयमा सल्लाह सुझाबका लागि बैठक आयोजना गरिएको बताउनुभयो।
निरौलाले बिषय प्रवेश गराउदै युरोपमा नेपाली ब्यबसायी र नेपाली दुतावासहरुले नेपाली सामानको बजार बिस्तारका लागि सामुहिक प्रयत्न आबस्यकछ भन्नुभयो।
संघका सह-संयोजक अमिर देवकोटाले सबैलाई अनुकूल हुने समय मिलाएर अधिवेशन आयोजना गर्नुपर्ने सुझाव दिनुभयो।
यस्तै, व्यवसायी सबु पौडेलले नेपाललाई योग, ध्यान तथा आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्दै यस क्षेत्रमा सक्रिय व्यवसायीहरूलाई संघले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली व्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष संघर्ष केसीले नेदरल्याण्ड्समा चिनियाँ व्यवसायिक समुदायसँग सहकार्य भइरहेको जानकारी दिँदै अन्य ठूला व्यावसायिक संस्थासँग पनि सहकार्य विस्तार गर्ने प्रयास भइरहेको बताउनुभयो ।
संस्थाका सल्लाहकार शशी पौडेलले तीन वर्षअघि संस्थाको स्थापना गर्दा लिइएको लक्ष्य र उद्देश्यअनुसार काम हुन सके–नसकेको विषयमा आत्ममूल्यांकन आवश्यक रहेको उल्लेख गर्दै स्पष्ट कार्ययोजना बनाएर सक्रिय रूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
व्यवसायी तथा एनआरएन अभियन्ता नारायण आचार्यले संगठन विस्तारभन्दा पनि व्यवसाय विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै नेपाल र युरोपका कम्पनीहरूबीच सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, व्यवसायी मनोहरी शर्माले स्थापित व्यवसायीहरूलाई बलियो बनाउन तथा नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूलाई परामर्श, तालिम र सहजीकरण उपलब्ध गराउन संघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष लोक दाहालले युरोपका नेपाली व्यवसायीहरूले सामूहिक लगानीको नमुना परियोजना सुरु गर्नुपर्ने सुझाव दिनुभयो। उहाले साना–साना लगानीलाई एकीकृत गरी नेपालमा उत्पादनमूलक परियोजना सञ्चालन गर्न सके रोजगारी सिर्जना हुनुका साथै देशको आर्थिक विकासमा योगदान पुग्नेछ भन्नु भयो।
लक्जेम्बर्गका व्यवसायी हरि खत्रीले आगामी अधिवेशन र थिम सेमिनारको व्यवस्थापन तथा आयोजनामा सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो।
बेल्जियमका व्यवसायी चिरन खवासले युरोपेली संघ (ईयू) अन्तर्गतका देशहरूमा रहेका नेपाली राजदूतहरूलाई अधिवेशनमा आमन्त्रण गरी नेपाल सरकार, नेपाली व्यवसायी तथा स्थानीय व्यवसायिक समुदायबीच अन्तरक्रिया गराउन सके व्यापार विस्तारमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।
व्यवसायी तीर्थ धमलाले सदस्यता सम्बन्धी विषय अधिवेशनअघि नै टुंग्याउन सुझाव दिँदै प्रवासी नेपालीहरूको लगानीलाई सहज बनाउने नीतिगत व्यवस्था नेपाल सरकारले ल्याउनुपर्ने बताउनुभयो।
बेल्जियमका ब्यबसायी भिम सुबेदीले सामुहिक प्रयत्न भएमा नेपाली व्यवसायीलाई ब्यबसाय गर्न सहज हुने र देशलाई फाइदा पुग्छ भन्नुभयो।
नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष काशी दनाईले बेल्जियममा नेपाली व्यवसायीहरू एकताबद्ध भएर लबिङ र सामूहिक पहल गरेका कारण सकारात्मक परिणाम प्राप्त भएको उल्लेख गर्दै अन्य युरोपेली देशहरूले पनि त्यही मोडल अपनाउन सक्ने बताउनुभयो।
संघ सदस्य तथा बेल्जियमका ब्यबसायी भिम जोशीले युरोपमा ब्यबसाय बिस्तारका लागि संस्था सक्रिय हुनु पर्ने सुझाब दिनुभयो।
एनआरएनए बेल्जियमका अध्यक्ष एबम ब्यबसायी लोकेन्द्र नेपालले युरोप नेपाली समानको ठुलो बजार हुन सक्ने भएकोले त्यस बिषयमा संस्था सक्रिय हुनु पर्छ भन्नु भयो।
एनआरएनए निबर्तमान प्रबक्ता एबम नेदरल्यान्डका ब्यबसायी फणिन्द्र पन्तले संस्थागत गतिबिधि संगै ब्यबसायिक गतिबिधिमा बढी सक्रिय हुन् सुझाब दिनुभयो।
युरोपेली संघका लागि नेपालका राजदूत सेवाल मसालले युरोपभरिका नेपाली व्यवसायीहरूसँग भर्चुअल बैठक आयोजना गरी सुझाव संकलन गर्ने प्रस्ताव राखे। उनले नेपाल सरकारले के–कस्ता नीतिगत सुधार गर्नुपर्ने भन्ने विषयमा विस्तृत सुझाव प्राप्त भए त्यसलाई कार्यान्वयनका लागि आफूले पहल गर्ने बताउनुभयो।
राजदूत मसालले नेपालबाट युरोपमा वस्तु निर्यात गर्दा देखिने चुनौती, प्याकेजिङ, गुणस्तर मापदण्ड तथा बजार आवश्यकताबारे युरोपमा रहेका नेपाली व्यवसायीहरूले नेपालका उद्योगी–व्यवसायीलाई सुझाव दिनुपर्ने आवश्यकता औँल्याए। साथै, नेपाल भू–परिवेष्ठित देश भएकाले वस्तु निर्यातसँगै सूचना प्रविधि (आईटी) सेवा निर्याततर्फ पनि विशेष ध्यान दिनुपर्ने उहाको सुझाब रहेको थियो।
बैठकले नेपाली व्यवसायीहरूबीच सहकार्य, सामूहिक लगानी, व्यापार विस्तार तथा नेपाल–युरोप आर्थिक सम्बन्धलाई सुदृढ बनाउने दिशामा संघलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
आगामी नोभेम्बरमा लक्जेम्बर्गमा हुने अधिवेशन तथा थिम सेमिनारले युरोपमा रहेका नेपाली व्यवसायीहरूलाई साझा मञ्चमा ल्याई दीर्घकालीन कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।