एनआरएनए बेल्जियमले गत महिना सम्पन्न एनआरएनएको एकता महाधिबेशनबाट निर्बाचित बेल्जियम निवासी केन्द्रीय पदाधिकारीहरुलाई सम्मान गरेकोछ। संघको दशौ र एघारौ महाधिबेशन बिबादित भएर सर्बोच्च अदालतमा मुद्दा चले पछि सर्बोच्चले एकता महाधिबेशन गर्न संघका प्रमुख संरक्षक शेष घलेलाइ जिम्मा दिए अनुसार भएको एकताको महाधिबेशनले बेल्जियम निवासी एनआरएन अभियन्ताहरु लोक दाहाल, गंगाधर गौतम र प्रेम गुरुङ्गलाई क्रमश उपाध्यक्ष , प्रबक्ता र युरोप संयोजक निर्बाचित गरेको थियो।
एनआरएनए बेल्जियमका तिनैजना पूर्व अध्यक्षहरु केन्द्रीय पदाधिकारी बन्नु भएकोमा एनआरएनए बेल्जियमले बधाई ज्ञ्नापन गर्नुका साथै सम्मान गरेको हो।
सोमबार आयोजित सम्मान कार्यक्रममा संघको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले खादा लगाएर उहाहरुलाई सम्मान गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत लम्सालले एनआरएन अभियानबाट नेपालले धेरै अपेक्षा राखेकोले त्यो पुरा गर्ने कर्तब्य निभाउन पहिले संस्था बलियो हुन आबस्यक छ भन्नु भयो। बिभिन्न देशमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्ने जिम्मा एनआरएन अगुवाहरुको भएकोले संस्था भित्र यदि कुनै मतभेद छन् भने मिलाएर देश बिकासमा साझेदारी गर्न आग्रह गर्नु भयो।
परराष्ट्र सेवामा रहदा आफुले सधै विदेशमा रहेका नेपालीहरुको हक हित संरक्षण गर्न समन्वय गरेको र एनआरएन अभियानको एकतामा जोड दिएको र आज पनि आफु बलियो एनआरएनए को पक्षमा रहेको बताउनुभयो।
सम्मानित एनआरएनएका प्रबक्ता गंगाधर गौतमले एनआरएनए भित्र सुरु भएको सदस्यता बिबादले संस्थालाई अदालतको ढोका सम्म पुर्याएको र अदालतले सबै पक्षलाई समेटेर एकता महाधिबेशन गरि संस्थालाई गतिशील बनाउन आदेश गरे बमोजिम अदालतको आदेश एबम परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार भएको एकताको अधिबेशनले निर्बाचित गरेको महेश श्रेष्ठ नेतृत्वको एनआरएनए नै बैधानिक र आधिकारिक भएकोले आफ्नो स्वार्थ अनुकुल संस्थालाई बन्धक बनाउन खोज्नेहरुलाई बेचैनी भए पनि आम एनआरएनहरुले त्यसलाई स्विकारी सकेकाछन् भन्नु भयो।
गौतमले एकता अधिबेशनबाट निर्बाचित समितिलाई काम गर्नबाट रोक्न परमादेश माग गरि अर्को पक्षले दिएको र्रिटमा अदालतले परमादेश नदिएकोले त्यो नै नयाँ समितिलाई बैधानिकता दिएको हो भन्नु भयो। उहाले कानुन र संस्थाको बैधानिकताको सम्मान गरेर सबैलाई समेट्न नबनिर्बाचित समिति सधै तयार रहेकोछ भन्नुभयो।
युरोप संयोजक प्रेम गुरुङले युरोपमा रहेका एनआरएनहरुका समस्या समाधानका लागि बिशेष कार्ययोजना बनाउदै गरेको जानकारी दिदै बिसुद्ध सामाजिक चरित्रको संस्थालाई त्यहि अनुसार चलन दिनु पर्छ भन्नु भयो। अन्याय भयो भनेर अदालत जाने तर अदालतको आदेश नमान्ने दोहोरो चरित्रले संस्थालाई बिबादको भुमरीमा फसाएकोछ भन्नु भयो। एनआरएनए लाई राजनीतिक र व्यापारिक स्वार्थ अनुसार चलाउन चाहने बिरुद्ध आफुले संघर्ष गर्ने बताउनुभयो।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले एनआरएनए बेल्जियम बिधि पद्धति र कानुन मान्ने संस्था भएकोले सर्बोच्चको आदेश भन्दा बाहिर जान सकिएन भन्नु भयो। आफ्नो कार्यकाल भरि बिबादित दुइ पक्षले जति दबाब दिदा पनि कसैको पक्षमा नलागेको तर अहिले अदालतको आदेशको सम्मान र परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्नु कर्तब्य भएकोले सोहि अनुसार एकता महाधिबेशन अनुसार निर्बाचित भएका आफ्ना पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको बताउनुभयो।
एनआरएनहरुका समस्याका नेपाल सरकारसंग सहकार्य गर्नु पर्ने र तालुकदार मन्त्रालय पनि भएकोले परराष्ट्र मन्त्रालयको निर्देशन सबै एनसिसिहरुले मान्ने उहाले बताउनुभयो। भोलि अदालतले अर्को आदेश गरेमा सोही अनुसार गर्ने पनि सापकोटाले बताउनुभयो।
एनसीसीका लागि बेल्जियमको नेपाली समुदायको एकता नै प्रमुख पहिलो र अन्तिम सर्त बटमलाइन रहने उहाको प्रतिबद्धता जाहेर गर्नुभयो।
उपमहासचिब राजेन्द्र कार्कीले संचालन गर्नु भएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै उपाध्यक्ष कासी दनैले कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो।