जनकपुरलाई हराउँदै चितवन प्ले अफ नजिक

0

काठमाडौँ \ शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो ।

जितसँगै चितवनले सात खेलबाट आठ अङ्क बनाएको छ । चितवनलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजा पनि पर्खनुपर्ने हुन्छ । अहिले पाँच खेल खेलेको सुदूरुपश्चिम रोयल्स र ६ खेल सकेको कर्णाली याक्सको पनि समान आठ अङ्क छ  ।

लिगमा सबै खेल सकेको जनकपुर यसअघिनै प्ले अफमा पुगिसकेको छ । जनकपुरको सात खेलबाट १० अङ्क छ । चितवनको जितले पोखरा र विराटनगर बाहिरिएको छ । दुवै टोलीको ६ खेलबाट चार चार अङ्क छ । लुम्बिनी लायन्स यसअघिनै बाहिरी सकेको छ ।

जनकपुरका लागि जेम्स निसमले अर्धशतकीय पारी खेल्नुभयो । सर्वाधिक ६५ रन बनाउनुएका उहाँले २४ बलमा पाँच चौका र ६ छक्का हान्नुभयो ।

निसम एनपिएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बन्नुभएको छ । उहाँले १८ बलमै अर्धशतक पूरा गर्नुभएको हो । यसअघि  सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गर्नुभएको थियो ।

यस्तै ओपनर आशिफ शेखले २३, शुभ कंशाकरले १५ र मोहमद मोसिनले १३ रन बनाउनुभयो । कप्तान अनिल शाह आठ रन जोड्दै पेभेलियन फर्किनुभयो ।

बलिङमा चितवनका सोहिल तन्विर, कप्तान कुशल मल्ल र रिजन ढकालले दुई दुई तथा अमर रौटेला एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो ।

चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिनुभयो ।

रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाउनुभयो । यस्तै हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रनको योगदान गर्नुभयो ।

बलिङमा जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिनुभयो । हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक एक विकेट झार्नुभयो ।

Leave A Reply

Your email address will not be published.