काभ्रे \ प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताएका हुन् ।
‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने । उनले विद्यार्थीलाई पढाइसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे ।
उनले भने, “सर्टिफिकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।’ प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए ।