काठमाण्डौ जोड्ने सबै नाका ठप्प, देशभरका अरू सडकमा पनि क्षति

0

बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाण्डौसँग अरू जिल्लाको आवतजावत टुटेको छ । देशका अरू ठाउँमा पनि सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएकाे छ । कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउने बताउनुभयो ।

यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ । पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरेर काठमाण्डौ निकालिएको सडक विभागका महानिर्देशक पोखरेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.