असार २८ सम्म मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाउँछौ: प्रमुख सचेतक बर्तौला

0

काठमाडौँ \ नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनुभएको छ । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा पुगिनसकेको बताउनुभयो । उहाँले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुङ्गो लगाउने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गरी कांग्रेससहितका दलहरूसँग छलफल हुने बताउनुभयो ।

‘‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली कांग्रेसको बिचमा आलोपालो पहिला एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली कांग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमति भएको छ । सहमति यति भयो । सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्नुहुन्छ । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बिचमा हामीले छलफल गर्नेछौँ ।,’’ प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘‘त्यो छलफल प्रारम्भिक रूपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौँ । मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोली नै राजीनामा दिएर एउटा सहज मार्गप्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुङ्गो लगाउँछौँ । अहिले चाहिँ केही छलफल भएको छ ।’’

प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुङ्गिन केही समय लाग्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.