मनसुन भित्रिएयता ६२ जनाकाे गयाे ज्यान

0

मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाकाे ज्यान गएकाे छ । यस अवधिमा चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले याे तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एक गरी नौ जनाको ज्यान गएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ । ११ वटा घरमा आंशिक क्षति भएको छ ।

पहिराेका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराेमा परी दुई जना बेपत्ता र ३८ जना घाइते भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराेले ४३ वटा घर पूर्णरूपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । यस्तै १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्णरूपमा क्षति हुँदा ट वटा घर आंशिक रूपमा क्षतिग्रस्त छन् ।

बाढी र पहिराेले अहिलेसम्म ८ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङबाट १९ जनाको ज्यान गएकाे छ भने ३५ जना घाइते भएका छन् ।

‘बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ’, प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भन्नुभयो, ‘यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ । उहाँका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आकलन गरिएको छ ।’

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले भाेलि सोमवारदेखि देशभर बाढीको जोखिम कम हुने जानकारी दिनुभयो  । ‘आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, देशको विभिन्न ९ वटा नदी सतर्कता तहमा छ’, उहाँले भन्नुभयो, ‘क्रमिक रूपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ ।’

गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक हप्तामा देशकाे १ सय १० वटा ठाउँमा पहिरो गएको छ । बाढी जस्तै पहिराेको पूर्वसूचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा. सुबाेध ढकालले बताउनुभयो ।

‘’राजमार्गमा पहिराेको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऔँ । जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभाबी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ, उहाँले भन्नुभयो, ‘’तपाईँ बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको सङ्केत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ ।

उहाँका अनुसार सुकिसकेका कुवा धारामा एक्कासी पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ ।

२७ सडक खण्ड अवरुद्ध

ललितपुरकाे बाग्मती गाउँपालिकामा गएको पहिराेले कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ । सङ्खुवासभाकाे मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्णरूपमा अवरुद्ध छ । सुनसरीकाे बराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराेले चतरा–बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ ।

रसुवाकाे आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराेले स्याफ्रुबेसी–थाम्बुचेत सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भीमफेदी–काठमाण्डाै–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ । भीमफेदी–८ को पहिराेले कान्ति लोकपथ एकतर्फी सञ्चालन छ । काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराेले बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेसीशहर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । म्याग्दीकाे बेनी नगरपालिका–४ मा गएको पहिराेले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिराेले बेनी–जोमसोम सडक अवरुद्ध छ ।

पर्वतको मूलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालन छ । तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन छ । नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र बाग्लुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्णरूपमा अवरुद्ध छ ।

प्यूठानको स्याउलीवा0बाग्दुला र भालुवाङ–दाङ–प्यूठान–सडक खण्ड बाढी, पहिराेका कारण अवरुद्ध छ । यसैगरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटबल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ । गुल्मीको रिडी–बाग्लुङ सडक खण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीकाे गोरुसिङ्गे–सन्धिखर्क सडक खण्ड, पाल्पा–अर्घाखाँची सडक खण्ड पनि अवरुद्ध छ । रोल्पाको शहीद राजमार्ग अवरुद्ध छ । दाङको घोराही–तुल्सीपुर सडक खण्ड एकतर्फी सञ्चालन भएको छ ।

कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ । अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भीमदत्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकाे छ । बैतडीको बझाङ–खोड्पे बैतडी सडक खण्ड र बाजुराको साँफे मार्तडी सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.