काठमाडौँ \ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गरेका छन् । हालै भुटानमा भएको उक्त भेटमा उनीहरूबिच सार्कका गतिविधि र आगामी योजनाका सम्बन्धमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।
सार्कको नयाँ महासचिवमा सरवारको भूमिकाको प्रशंसा गर्दै भुटानी नरशले सार्कलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा उनीहरूबिच सार्क क्षेत्रका जनताको बृहत्तर समृद्धिका लागि गरिएको परिकल्पनालाई साकार बनाउन र उद्देश्य प्राप्तिका दिशामा सार्कलाई अघि बढाउने बारेमा विचार आदानप्रदान गरेको सचिवालयले जनाएको छ ।