नगर प्रमुख साह ब्राजिल प्रस्थान

0

काठमाडौँ \ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ । यही असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गर्नुभएको हो । बैठक सम्पन्न गरेर उहाँ असार ८ गते स्वदेश फर्कनुहुनेछ । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल हुनुहुन्छ ।

प्रमुख साह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ । मेट्रोपोलिस विश्वका ठुला महानगरहरुका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज वुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

सहरी आवास र भवनहरुको विषय यस पटक छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख साहले सम्बोधन गर्नुहुनेछ ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख साहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नुहुनेछ ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।

बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।

Leave A Reply

Your email address will not be published.