राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच औपचारिक भेटवार्ता हुँदै

0

काठमाडौँ \ संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रैंक–वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका हुन् ।

राष्ट्रपति पौडललाई बर्लिनमा आज जर्मन सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो । नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.