रातो मन्छिन्द्रनाथको रथ लगनखेल पुर्‍याइयो

0

रातो मन्छिन्द्रनाथको रथलाई हिजो लगनखेल पुर्‍याइएको छ । हिजो रथलाई टंगलबाट तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो । आज बेलुकी पञ्चबली पुजा हुँदैछ ।

हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याएपछि महाबली पूजा गरिन्छ । यो वर्ष रथमा समस्या भएकोले सुन्धारादेखि लगनखेल पुर्‍याउन समय लागेको छ । जेठ २ गते सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा शुरु भएको थियो । यस क्रममा रथ निकै ढल्किएकोले ४ गते रथयात्रा रोकेर मर्मत गरिएको थियो । त्यसपछि अस्ति ५ गतेदेखि रथयात्रा फेरि शुरु भएकोमा हिजो लगनखेल पुर्‍याइएको हो ।

विगतका वर्षहरुमा सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा दुई दिनको हुने गथ्याे। रथलाई आज र भोलि लगनखेलमा राखिन्छ । पर्सि नरिवल खसाल्ने जात्रा हुनेछ । नरिवल खसाल्ने जात्रापछि शुभ साइत निकालेर रथ जावलाखेलमा पुर्‍याइन्छ ।

जावलाखेलमा राष्ट्र प्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि यस वर्षको रथयात्रा सकिन्छ । भोटोे देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति लैजाने चलन छ ।

Leave A Reply

Your email address will not be published.