देशको विकास कसले रोकेको रहेछ त ?

0

शैले्न्द्र अधिकारी – “शैलु” डेनमार्क,

२०८० पुष १० को गठबन्धनको सरकारमा सामेल भएको रास्वपा र रवि लामिछानेको गृहमन्त्रीको ३३ दिनमा बहिर्गमन र गठबन्धनको फेरबदल सहित प्रतिपक्षको कित्तामा सरेको थियो । सरकारबाट बाहिरिए पछि सरकारमा जानु आफ्नो भूल भएको स्विकारेर रवि लामिछानेले बोलेको एउटा भनाई निकै भाईरल भएको थियो- तपाईहरु सबै पार्टी मिल्नुस, ४ बर्ष सत्ता चलाउनुस्। सबै दलको नियत एउटै भएपछि सटर मात्रै फरक किन? रास्वपा एक्लै बिपक्षमा बस्छ । कि तपाईहरु सक्किनुस् कि हाम्रो बिकल्प सिध्याई दिनुस् ।

नयॉ आशा र संचार भरेको एक राजनैतिक पार्टीले सबै दललाई दिएको यो सामान्य चुनौती मात्र थिएन । रास्वपा सरकारमा गएको यसका शुभचिन्तकहरुलाई पटक्कै मन परेको थिएन भन्ने कुरा त्यतिबेलाका सामाजिक संजालका आर्काइभ हेर्यो भने अझ प्रष्ट हुन्छ। सबै पुराना दल एकातिर, रास्वपा अर्को तिर सुन्दा पनि बडो आनन्द आउने !

नेपालका पुराना दलबाट आजित भएका, स्वभावजन्य कारण कुनै पनि पार्टीमा नअटाएका , झगडालु स्वभावका मध्यमस्तरका नेता वा कार्यकर्ता चुनावका बेलामा पार्टी फेरि रहन्छन। स्वाभाविक हो तिनीहरु रास्वपामा प्रवेश गरे। अर्काथरी राजनीति नगरेका तर देश बनेन भनेर चिन्तित पवित्र मनसाय भएकाहरु रास्वपामा स्वस्फुर्त रुपमा प्रवेश गरे र निर्वाचनमा पनि मतदान गरे। रास्वपामा जानेहरु जो सामान्य साक्षर छन् ,सामाजिक संजालमा कम पहुँच छ,उनीहरु मुख धेरै चलाउंछन्,अरुलाई तथानाम गाली गर्छन।अर्काथरी शिक्षित भनाउंदाहरु सामाजिक संजालमा उद्दण्ड र कठोर शब्द प्रहार गर्छन ,उनुहरुका हर्कत सामाजिक सदभावमै खलल पुर्याउने सम्मका हुन्छन ।

चुनावताका “नो नट अगेन “ को नारा लगाउदा गगन र रविको बोलीमा लोली मिलेको थियो । दुवैको भाषण र विचारमा यो देश नबन्नुमा प्रधानमंत्रीमा ईच्छा शक्ति नहुनु र प्रधानमंत्री पद ३/४ जनाको “तातो आलु “को खेल जस्तो भएकोले नाम नै तोकेर कम्तिमा ६ जना (प्रचण्ड, देउवा, केपी ओली, झलनाथ, माधव र बाबुराम ) फेरि प्रधानमंत्री बन्न नहुने तर्क राख्दथे । यो कुरा जगजाहेर छ। त्यसबेला गगनको समर्थन गर्नु नै रास्वपाको समर्थन गर्नु जस्तो भएको थियो। गगनको क्षेत्रमा घण्टीका उम्मेदवारले आफ्नो उम्मेद्बारी फिर्ता लिनुले त झन सबैलाई आशंका पैदा गराएको थियो कि कतै यी दुई पक्ष बीच केही गोप्य समझौता त भएको छैन !

१४ /१५ महिना घुमेर ऑउदा गगन र रवि अहिले आम्ने साम्ने भएका छन् , यस क्रममा रविले २ पटक प्रधानमंत्रीमा प्रचण्डलाई भोट मात्रै हालेका छैनन्, महान् नेताका रुपमा उभ्याउने कोशिश गरेका छन् । यस संदर्भमा मुमाराम खनाल लेख्छन् “जनयुद्दमा हामीले ऑफै माओवादी भएर पनि नगरेको प्रचण्डको प्रसंसा, रास्वपा ले संसदमा गरेको देख्दा लाज लागेर आयो ! विधिमा यतिसम्म बिडम्बना हुने रहेछ भनेर अहिले लोक हाँसेको के मैले मात्र देखेको हो र ?

अहिले रविको राजिनामा माग गर्दै कुर्लने भूमिकामा गगन अग्रपंक्तिमा छन् भने रास्वपा समर्थित आम कार्यकर्ता गगन को विरोध गर्न ।
तर रवि र गगनमा फरक के छ भने , रविले सटर फेरे, गगन ले फेरेका छैनन् । गगन देश सुधार्न प्रधानमंत्री फेरिन पर्ने कुरामा अझै अडिग देखिन्छन् भने उनले तेही अनुसार ऑफूलाई ब्यबहारमा उतारेका छन् । देउवाको बहुमत छ भन्ने जान्दा जान्दै ऑफैले बोलेको कुरा पूरा गर्न पर्छ भनेर संसदीय दलको नेतामा निर्वाचनमा होमीए। कम्तिमा ऑफूले प्रयत्न गरे तर सफल हुन सकेनन। बर्तमान राजनीतिमा गगनको यो कुरा सकारात्मक मान्नु पर्छ।

तर रवि लामिछानेले २/२ पटक प्रचण्डलाई प्रधानमंत्री बनाएर ऑफू गृहमंत्री भएर देश सुधार्ने उद्घघोष गरिरहेका छन् । लामिछानेको अहिलेको विश्वास र भनाई लाई मान्ने हो भने देश त लामो समयदेखि मन्त्रीहरुले नबनाएका रहेछन् जसमा प्रधानमंत्रीको भूमिका गौण रहेछ भनेर बुझिन्छ । मानौं कि मन्त्रिले प्रधानमंत्री नियुक्त गर्ने हो । अर्थात गृहमन्त्री नालायक भएकै कारण मुलुक नबनेको हो।

अर्को तर्फ, रास्वपाको जन्म नै माओवादी र प्रचण्डको बिरोधमा आधा र कॉंग्रेस एमालेको विरोधमा आधा हिस्साको आधारमा भएको हो । यदि प्रचण्डको राजनीति र नेतृत्वलाई ५०% मात्रै ठिक मान्ने हो भने पनि अहिलेको रास्वपाको अर्थ र महत्व मधेसी दलहरु संग तुलना गर्न मिल्छ ।

फेरि पनि मन्त्री पदसंग आदर्श साट्न नसकेर हार व्यहोरेका गगन र २ पटक मन्त्री पदसंग आदर्श साटेका रविको तुलना फेसबुकमा आदर्श पोख्नेहरुले कसरी बुझेका छन ? यसको उत्तरमा भबिष्यको राजनीतिको बाटो तय हुन्छ ।
यसका लागि पनि भन्नै पर्छ कि नेपाली राजनीतिमा अध्यक्ष वा सभापति बाहेक अरुले चाहेर पनि केही गर्न सकिदैन । उदाहरणको रुपमा यस पटकको सरकार फेरबदलमा रास्वपाबाट डिपी अर्याल मन्त्री हुने निर्णय हुंदा सम्म रास्वपाकी एकजना चर्चित नेतृ तथा सॉसद सोविता गौतमलाई रास्वपा सरकारमा गएको कुरा सम्म पनि थाहा रहेनछ। पत्रकारको जिज्ञासामा उनले यो कुरा बताएकी थिईन् ।

नयॉ पार्टीको स्थापनाले पुराना पार्टीहरुलाई चुनौति दिंदा देश विकासमा सकारात्मक दवाव पर्ने हेतुले रास्वपा ईतर पार्टीका कार्यकर्ता तथा शुभचिंतकहरु पनि रास्वपाका सकारात्मक कुरा खोज्छन्, आलोचना टिप्पणी गर्छन् र रास्वपा छुट्टै निष्कलंक पार्टी होस् भन्ने चाहन्छन तर आम नेपालीहरु किमार्थ यो चॉहदैनन् कि विद्यमान प्रमुख नेपाली नेताहरुको लाइनमा अर्को उस्तै मख्खीचुस खेलाडीको जन्म होस् ।

शेर बहादुर देउवा, ओली र प्रचण्ड जस्तै आफ्नो पार्टीबाट सरकारमा जॉदा ऑफै सबैभन्दा ठूलो पदमा जानै पर्ने, ऑफू पार्टी चलाएर सरकारी पदमा आफ्नो पार्टीका अन्य नेतृत्व पठाएर काम हुन सक्दैन भन्ने सोंच फेरी हुबहु पुराना पार्टीका नेतासंग कसरि मिलेको होला हँ ?

तेत्रो १२ बर्षे जनयुद्धकोको सफल नेतृत्व गरि पार्टी निर्माण र नेतृत्व गरेका प्रचण्डको समर्थक पनि नेपालमा नभएका होईनन् तर २०६४ सालमा झन्डै बहुमतको अवस्थामा पुगेको माओवादीको जनमत ओर्लदो अवस्थामा छ र यो घट्नुमा धरै कारण मध्ये रास्वपाका नेताहरुको घॉटीका नशा फुलाई फुलाई गरेको भाषण पनि हो, तर यदि रास्वपा वा रवि लामिछानेमा १५ महिना अघिको “नो नट अगेन” को आदर्श थोरै पनि बॉकी हुन्थ्यो भने पुराना पार्टीलाई समर्थन गर्नु परे पनि प्रधानमंत्री नयॉ हुनु पर्ने अडान राखेको भए अहिलेको जस्तो रास्वपा समर्थकहरुको मुख निन्याउरो हुने थिएन होला । २४ घन्टा प्रचण्डलाई गाली गर्ने रास्वपा कार्यकर्ता गगनको हराएको बाख्रा खोज्दै हिड्ने थिएनन् होला ।

अर्को तर्फ ईतर पार्टीका कार्यकर्ताहरुले रास्वपाको विरोधमा तर्क राख्दा पुराना पार्टीहरुको समर्थन गरेको जस्तो देखिन गए पनि कॉंग्रेस, एमाले र माओवादी भित्रका गुट उपगुट र षड्यंत्रको अन्तरपार्टी हैकमवाद, नातावाद र भ्रष्टाचारको विरोध गर्न पटक्कै छोडेका छैनन् । आफ्ना पार्टीका नेताहरुको विरोध गरिरहेका कार्यकर्ता कॉंग्रेस एमाले र माओवादिका अध्यक्ष भन्दा पनि आफ्नो पार्टीमा निरंकुशर शक्तिशाली र व्यक्तिवादी नेतृत्वको रुपमा रवि लामिछानेको उदयलाई विश्वास गर्न सकिरहेका छैनन्। यस विषयमा लामिछानेको पार्टी र पात्र फरक भए पनि पूरानै पार्टिका प्रब्रित्ति समान गुण, समान नौटंकी, समान आँखा जिम्क्याई र रुझान केका लागि हो ?

अन्तमा, बर्तमान परिप्रेक्ष्यमा रास्वपा समर्थित चैतन्य पात्रहरुको सामाजिक संजाल हेर्दा शेर बहादुर देउवा भन्दा गगन थापाको विरुद्धमा देखिएको छ । उनिहरुका तर्क र विश्लेषणले यस्तो लाग्छ , प्रचण्ड त विकास प्रेमी र भ्रष्टाचार अन्तका लागि मियो कै रुपमा सावित हुदैछन्। विगतमा प्रचण्ड र ओली जस्ता दूरदर्शी नेताहरुलाई गाली गरेर समय खेर फालेकोमा उनीहरु अहिले बडो दिक्दारिमा छन्। देउवा आफ्नो ठॉउमा ठिकै छन्! देश बिगार्न त गगन थापा र विश्वप्रकाश जस्ता नेताहरु पो लागि परेका रहेछन् ! टालाटुली बाटुली कति राम्री पुतली !

अधिकारी एनआरएनए डेनमार्कका पूर्व अध्यक्ष हुन ।

Leave A Reply

Your email address will not be published.