नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको सबैभन्दा पुरानो दल, नेपाली कांग्रेस, आज आफ्नो ऐतिहासिक गौरव र सैद्धान्तिक पहिचान गुमाउने दिशातर्फ अघि बढिरहेको देखिन्छ।
देशमा प्रजातन्त्र स्थापनादेखि गणतन्त्रको यात्रासम्म कांग्रेस अग्रपंक्तिमा रह्यो। तर विडम्बना — आज यही दल संगठनात्मक दृष्टिले कमजोर, विचारका हिसाबले भ्रमित र कार्यकर्ताको दृष्टिले निराश अवस्थामा पुगेको छ। यो अवस्था केवल राजनीतिक प्रतिद्वन्द्वीको कारण होइन, आफ्नै भित्रको मौन विस्थापनको परिणाम हो।
कांग्रेसका हजारौं सच्चा र निष्ठावान् कार्यकर्ताहरू, जसले दशकौंसम्म सिद्धान्त, विचार र संगठनका लागि निस्वार्थ समर्पण गरे, अहिले आफ्नै पार्टीभित्र उपेक्षित भइरहेका छन्। विगतमा गुटभन्दा माथि उठेर जनताको पक्षमा उभिएका यी कार्यकर्ताहरू आज निर्णय–प्रक्रियाबाट टाढा धकेलिएका छन्। उनको स्थान अब पैसाको बलमा राजनीतिमा प्रवेश गर्ने नवप्रवेशी र अवसरवादी वर्गले ओगटेका छन्। पार्टीभित्र पद, जिम्मेवारी र अवसर अहिले आर्थिक पहुँचका आधारमा बाँडिने प्रवृत्ति मौलाएको छ। यो प्रवृत्तिले संगठनको नैतिक मेरुदण्ड कमजोर बनाउँदै लगेको छ।
कांग्रेसको विगत हेरौँ — यो दल कहिल्यै व्यक्तिको होइन, विचारको राजनीति गर्ने दलको रूपमा चिनिन्थ्यो। तर पछिल्ला वर्षहरूमा नेतृत्व प्रतिस्पर्धा विचारभन्दा पनि शक्ति–सन्तुलन, गुटीय समीकरण र स्वार्थ–सम्झौतामा सीमित हुन थालेको छ। आदर्शको चर्चा भाषणमा हुन्छ, तर व्यवहारमा पैसाको प्रभाव हावी छ।
नेतृत्वका निर्णयहरू संगठनको सामूहिक हितभन्दा बढी व्यक्तिगत आकांक्षाले निर्देशित देखिन्छन्। यसले कार्यकर्ताभित्र असन्तोष मात्र बढाएको छैन, पार्टीप्रतिको निष्ठा र आत्मगौरव पनि कमजोर बनाएको छ।
२०४६ सालपछि हजारौं नेपालीहरू विदेशमा गए र उनीहरूले लोकतान्त्रिक भावना बोकेर कांग्रेसका भातृ संस्थाहरू स्थापना गरे। कठिन परिस्थितिमा पनि उनीहरूले पार्टीका सिद्धान्त र सन्देशलाई जीवित राखे, अन्तर्राष्ट्रिय स्तरमा नेपालको लोकतान्त्रिक यात्राको पक्षमा आवाज उठाए। तर दुर्भाग्य — शीर्ष नेतृत्वले तिनको योगदानलाई कहिल्यै संस्थागत रूपमा मूल्याङ्कन गरेन।
महाधिवेशनका बेला प्रवासी प्रतिनिधिहरूको औपचारिक उपस्थिती देखिए पनि, उनीहरू सधैं निर्णय–प्रक्रियाबाट बाहिरै राखिए। यस बेवास्ताले प्रवासी कार्यकर्ताभित्र गहिरो असन्तोष र बेगानोपनको भावना जन्माएको छ। पार्टीभित्रको यो असन्तुलन अब सामान्य असन्तुष्टिको विषय मात्र रहेन। यो संगठनको भित्री अस्थिरता र विचारगत अस्पष्टताको रूप लिन थालेको छ।
अनेक इमानदार कार्यकर्ता अहिले बोल्न हिच्किचाउँछन्, किनभने आलोचना गर्दा उनीहरूलाई “विपक्षीका स्वर” भनेर हेला गरिन्छ। तर यही मौनता कांग्रेसका लागि सबैभन्दा ठूलो खतरा हो — किनभने जब पार्टीभित्र सच्चा आवाजहरू मौन बनाइन्छन्, त्यसबेलादेखि संस्थागत क्षय सुरु हुन्छ।
कांग्रेसको गौरव लोकतान्त्रिक मूल्य र सिद्धान्तमा थियो। जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, समान अवसर र विधिको शासन कांग्रेसको पहिचान थियो। तर अहिले पार्टीभित्रकै निर्णय–प्रक्रिया अपारदर्शी छ, संगठनात्मक विधि औपचारिकतामा सीमित छ। गुटीय हितका लागि नियम फेरिन्छन्, पद बाँडिन्छन्, र विचारको ठाउँमा व्यक्तिगत वफादारी मापन गरिन्छ। यस्तो प्रवृत्तिले कांग्रेसलाई लोकतान्त्रिक आन्दोलनको केन्द्र होइन, स्वार्थ–सन्तुलनको प्रयोगशाला बनाउँदै लगेको छ।
अब प्रश्न उठ्छ — कांग्रेस नेतृत्वले यो संकट बुझ्नेछ कि इतिहासको बोझ बोक्ने एउटा नाममात्रको संस्था बनेर बाँकी रहनेछ? यदि पार्टी पुनः सुदृढ बनाउन चाहिन्छ भने, पहिलो प्राथमिकता सच्चा कार्यकर्ताको पहिचान र सम्मान हुनुपर्छ। इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्ताको योगदानलाई मूल्याङ्कन नगरी कांग्रेस बलियो बन्न सक्दैन। लोकतान्त्रिक दलको शक्ति नेतामा होइन, जनस्तरमा हुन्छ — र त्यो शक्ति सच्चा कार्यकर्तामार्फत मात्र पुनः जाग्नेछ।
कांग्रेस आज नयाँ युगको मोडमा उभिएको छ। यो समय आत्मसमीक्षा, आत्मसंयम र संगठनात्मक पुनर्जागरणको हो। यदि नेतृत्वले अहिले पनि आत्मालोचना गर्न सकेन भने, पार्टी केवल अतीतको गौरव बोक्ने एउटा राजनीतिक स्मारक बन्न पुग्नेछ। तर यदि नेतृत्वले समयमै सचेत भएर संगठनलाई पुनः विचार, निष्ठा र मूल्यको बाटोमा फर्काउन सक्यो भने, कांग्रेस फेरि पनि नेपालको लोकतान्त्रिक यात्राको केन्द्र बन्न सक्छ।
मौन विस्थापनको यो घडीमा — कांग्रेसले आत्मसमीक्षा नगरे,त्यो मौनता नै अन्ततः पार्टीको आवाज हराउने अन्तिम संकेत बन्न सक्छ।