इन्द्र बहादुर क्षेत्री ,
सोवियत सँघको विघटनलाइ स्वभाविक तर १५ सोवियत राज्यहरूको स्वतन्त्रतालाइ ट्राजडी बताउने जार पीटर द ग्रेटका अनुयायी रूसी तानाशाह भ्लादिमीर पुटीनले २४ फेब्रुअरी २०२२ को राती पूर्व सोवियत राज्यमध्येको सबैभन्दा ठूलो र पहिलो प्रजातान्त्रीक राज्य युक्रेन माथि भीषण हमला गरे । ( स्मरणीय छ,पूर्व सोवियत राज्यहरू मध्ये अर्को प्रजातान्त्रीक देश जोर्जिया मात्र हो,जसमाथि सन् २००८ मै हमला गरेर भ्लादिमीर पुटीनले उसका दुइ क्षेत्र साउथ असेटिया र अफ्गाजिया कब्जा गरिसकेका छन् ) ।
यो अप्रत्याशित हमलाको विश्व स्तरमा भर्त्सना भयो । युरोप र उत्तर अमेरिकाबाट रूसमाथि प्रतिवन्धहरूको घोषणा भैरहँदा पुटीनले युरोपीयन देशहरूमा रूसबाट प्रवाह भैरहेको तेल र ग्याँसका टूटीहरू बन्द गरिदिए । त्यतिबेला जर्मनी ६० प्रतिशत र समग्र युरोप ४० प्रतिशत रूसी जीवास्म इन्धनमा निर्भर थियो । युरोपलाइ रूसी इन्धनको बिकल्प तुरून्तै खोज्नु जरूरी भयो । यसको लागि युरोपले रूस बाहेकका इन्धन उत्पादक देशहरूको मूख ताक्नुको बिकल्प थिएन । यत्रो विशाल सप्लाइ शिफ्टिङबाट विश्वको सप्लाइ चेन नै उथल पुथल हुने निश्चित भयो । सप्लाइ चेन युरोप डाइभर्ट हुँदा त्यसको मार तेश्रो विश्वका गरीब देशमा पर्ने निश्चित थियो । यसबाट
वैश्वीक महासङ्कट उत्पन्न हुने संभावना टड्कारो भैरहेको परिप्रेक्षमा OPEC प्लसका देशहरूले अाफ्नो उत्पादन ह्वात्तै बढाउनु पर्ने परिस्थिति सिर्जना भएको थियो । तर OPEC प्लसको बैठकले ठीक उल्टो निर्णय गरिदियो । यसका नेतृत्वदायी देशहरू सउदी र यू ए इ को पहलमा रूसको स्वार्थ पूरा हुने गरि तेल र ग्याँसको उत्पादन घटाइयो । यसबाट तेलको भाउ एक्कासी बढेर प्रति ब्यारेल १२७ डलर पुग्यो ।
विश्वमा भयावह स्थिति सिर्जना हुने निश्चित भए पछि अमेरिकी राष्ट्रपति जो वाइडनले सउदी नै पुगेर उत्पादन बढाउन अनुनय विनय मात्र गरेनन् टर्कीको सउदी दुतावासमा गरेको पत्रकार खसोगीको हत्यामा सउदी प्रिन्स मोहम्मद बिन सलमान माथि अमेरिकाले लगाएको “परिया”( अछुत ) को ट्याग समेत फिर्ता लिइदिए । तर प्रिन्स सलमानको महत्वाकाँक्षा पुटीनको युद्धले ह्वात्तै बढाइदिएको थियो । उनले वाइडेनसँग एफ १६ फाइटर जेट र यमनका हाउथि बिद्रोहीको दमनको लागि अावस्यक हतियार उपलव्ध गराउनु पर्ने पुरानै माँग दोहोर्याए । वाइडनले यसको सुनुवाइ गर्ने कुनै गुञ्जायस थिएन । अतः बिन सलमानले वाइडेनको तेल उत्पादन बढाउने अनुरोधको कुनै वास्ता गरेनन् । बरू त्यहि बेला पेट्रो डलर हटाउने जस्ता अनावस्यक फत्तुर फैलाएर दुनियाँलाइ झन त्रसीत बनाइदिए । चीनलाइ चिनियाँ मुद्रामा तेल बेच्ने सहमति नै गरे । तर उनको दुर्भाग्य भारत र चिनले रूसको प्रतिकूल अवस्थाको फाइदा उठाउँदै रूसबाट सिन्कीको भाउमा तेल पाइरहेको हुँदा सउदीबाट लगिरहेका खेपहरू पनि बन्द गरिदिए । समयको यस बिन्दूसम्म पनि त्यो स्थिति कायमै रहेको छ ।
OPEC प्लसले यसरि धर्म छाडेपछि यस सँगठनमा नरहेका ठूला तेल उत्पादक देशहरू अमेरिका,क्यानडा,नर्वे र नाइजेरियाले सँसारको महासङ्कट थाम्न अघि सरे । त्यहाँका कम्पनिहरूले उच्चतम क्षमतामा पम्पीङ शुरू गरेर अभूतपूर्व रूपमा सँसार भरिको जीवास्म इन्धनको सङ्कट टार्न सफल मात्र भएनन् मालामाल धन समेत कमाइरहेका छन् । पूर्व योजना अनुसार अमेरिकाले अाफ्नो स्ट्राटजीक रिजर्वको तेल चलाउनुु परेन । एल एन जी कम्पनिहरूले पनि यस क्रममा एटलाण्टीक महासागरमा ट्राफिक जाम नै हुने गरि अापूर्ति गरेर युरोपका एल एन जी ट्याङ्कहरू भरिदिए । युरोपलाइ त्यसै वर्षको जाडोमा कठ्याङ्रयार दुःख दिने पुटीनको योजना यसरि असफल भयो ।
भारत र चीनमा प्रवाह भैरहेको रूसको सस्तो तेल र अमेरिका लगायतका देशको युरोपमा भएको तेल र एल एन जी को अोभर फ्लोले सबैभन्दा बढी मार सउदी र यू ए इ लाइ पर्न गयो । यसबाट अत्तालिएका सउदी प्रिन्स बिन सल्मानले यमन,सिरिया,लेवनान लगायत विश्वभरि नै सिया सुन्निबीच छद्म युद्ध लडिरहेको परमपरागत दुश्मन इरानलाइ मात्र रेड कार्पेट विछ्याएनन् अाफैँले दुष्ट घोषणा गरेका सिरियाका तानाशाह बसर अल असदलाइ समेत २०११ को अरब अपराइजिङ पछि पहिलो पल्ट अरब सम्मेलनमा सहभागी गराए । यसको बिरोधमा यू ए इ ले सम्मेलन नै बहिस्कार गरेर हिँड्यो भने कतार लगायतका देशहरू बिन सल्मान सँग रूष्ट बने ।
१९७० को अरब इज्रेल सङ्रटमा पेट्रोलियममा नाकाबन्दी गरेर OPEC प्लसले सँसारमा हाहाकार ल्याएको थियो । अहिले इज्रेलले प्यालेस्टिनीहरूलाइ घर घरबाट थुतेर मारिरहेको छ भने गाजा शहर ढुङ्गे युगमा तब्दील भएको छ । अमेरिकाले भूमध्यसागरमा अाफ्नो युद्धपोत र फाइटर जेटहरू तैनाथ गरेर इज्रेलको समर्थन गरिरहेको स्थितिमा बिन सल्मान र इज्रेल सँग सिक्स डेज वार लगायत कैयाैँ युद्ध लडिसकेको अरब दुनियाँ रमिते झैँ तैँ चूप मै चूप भएर बस्न बाध्य छ । ठीक समयमा ठीक निर्णय लिन नसक्दा सउदी प्रिन्सको सत्ता समेत खतरामा धकेलिएको प्रतीत हुन्छ । सउदी अरब र हर्मुज जलडमरूबाट अमेरिकाले सैन्य अखडाहरू झिकिदियो भने इरानले सउदी,यू ए इ,कतार,बहरेन र कुवेतलाइ पर्सियन गल्फमै थुनिदिनेछ भने यमनका हाउथीहरूले पश्चिम तिर बाट सउदी अरबलाइ रेड सागरमा थुनिदिने छन् ।
इज्रेल र अमेरिका माथि १९७० मा जस्तो इन्धनमा प्रतिवन्ध गरेर हायल कायल पार्ने अपेक्षा राखिएको बेला तेलको मूल्य घटेर अाजको दिनमा प्रति ब्यारेल ७४ डलरको न्यूनतम बिन्दूमा पुगेको लज्जास्पद स्थिति टुलु टुलु हेरेर बस्न बाध्य भएका छन् तेल कुवेरहरू । मध्येपूर्वको संभावित कदमलाइ मभ्यनजर गर्दै अमेरिका लगायतले तेलको उत्पादन अत्यधिक बढाएको कारण तेलको मूल्य घट्न गएको अनुमान गर्न सकिन्छ।
अमेरिका,क्यानडा,नर्वे र नाइजेरिया यी ४ देशसँग फोसिल फ्यूलमा पेट्रोलियम बाहूवली OPEC प्लसको नराम्रोसङ्ग हार भएपछि रन्थनिएका यू ए इ र सउदीले पुटीनलाइ भब्य स्वागत गरेर अमेरिकालाइ देखाइदिएका छन् । यो “देखाइदिनु” मात्र किन हो भने पुटीनले अाफ्नै ककेसियन वरद पुत्र अरमेनियाँलाइ समेत अजरवाइजानबाट बचाउन नसकेर भर्खरै अाफ्नो मूखमा कालो मोसो दलीसकेका छन् । अरमेनियाँ अहिले अमेरिकन क्याम्पमा पुगिसकेको छ । अाफैँ त महादेव उत्तानो पर,कसलाइ दिने वर ? युक्रेनसँग लड्न नसकेर एक्सिस अफ इभिल राष्ट्र उत्तर कोरिया र इरानसँग गूहार माग्दै हिँडेका पुटीनलाइ दुनियाँले देखेकै छ । उसै पनि सउदी भन्दा पुटीनको लागि इरान प्रिय छ भन्ने कुरा अरबबाट फर्केको भोलिपल्टै इरानी राष्ट्रपतिलाइ क्रेमलिन स्वागत गरेबाट बाटै प्रष्ट हुन्छ । अहिले रूसले इरानबाट दान गरिएका शाहिद कामीकाजे ड्रोन र मिसाइलहरू युक्रेन माथि दागिरहको अवस्था छ ।
फोसिल फ्यूलमा पश्चिमसँग हार खाए पनि पुटीनको केहि जाने हैन,किनकि उनि पश्चिमा प्रतिवन्धमै छन् । तर OPEC King सउदी अरबको सर्वस्व गुमेको छ । अरब वर्ल्ड्को बेताज बादशाह बन्न निस्किएका राजकुमार मोहम्मद बिन सल्मान नराम्रोसँग चिप्लिएका छन् यहाँनेर । भूइँको टिप्न खोज्दा पोल्टाको पोखिएको छ उनको । यसैको पेरिफेरिमा भ्लादिमीर पुटीनको अरब भ्रमणलाइ लिनु पर्ने हुन्छ । यू ए इ मा भएको पुटीनको भब्य स्वागतलाइ जीयोपोलिटिकल शिफ्टिङको ब्याख्या कतिपयले गर्न खोजेका छन् तर त्यसमा त्यति सत्यता छैन । किनकि अमेरिका बिनाको सउदी र यू ए इको अस्तित्वको कल्पना गर्न सकिँदैन । के चाहिँ पक्का हो भने अब तेल र ग्याँसमा OPEC प्लसको हेजेमोनी सधैँको लागि समाप्त भएको छ । परिणामतः तेल भूराजनीतिको ब्ल्याकमेलिङबाट सँसार मुक्त भएको सुखद परिस्थिति बनेको छ ।