नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक हुन्।
नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार प्रदान गरे। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।
उनी गैर आवासीय नेपाली संघको सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पूर्व अध्यक्ष पनि हुन्। दाङ्ग देउखुरी मुसुरियानिवासी डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्।
उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (रोनाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। उनले गैर आवासीय नेपाली संघ द्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।
“नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) ले स्थापना गरेको पहिलो विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्दा मलाई साह्रै खुसी लागेको छ। हामीले प्रवासमा रहेका वैज्ञानिकहरुले पनि नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गर्नु पर्छ भनेर संस्थागत पहल गर्दै एक थियौं। यो पुरस्कारले प्रवासमा रहेका अरु कैयौं युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्ने मैले विश्वास लिएको छु,“ डा अधिकारीले भने।