राष्ट्रपतिद्वारा नेपालको कृषिमा आधुनिकीकरणका लागि आग्रह

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेसाकै रूपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणका लागि कोरियाली सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाँले नेपालमा कृषि विकासको प्रचुर सम्भावना रहे पनि परम्परागत प्रणाली यसको बाधक भएको बताउँदै प्रविधिमा ठुलो फड्को मारेको कोरियाले प्रविधि र लगानीमार्फत सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनसँग बिहीबार भएको शिष्टाचार भेटमा कृषिमा गरिने लगानीमा कर नलगाउने नेपाल सरकारको नीति रहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको पनि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

“ नेपालमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास भएमा देश समृद्ध हुन्छ । तर हाम्रो कृषि आम्दानी र रोजगारीको रूपमा पेसा बन्न सकेको छैन । सबै किसान छन्, सबै बेरोजगार जस्तै छन्”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो

कृषिलाई रोजगारी र आम्दानीको पेसा बनाउन नयाँ प्रविधि र लगानीको आवश्यकता छ भन्दै राष्ट्रपति पौडेलले कोरियाले प्रविधिमा गरेको चमत्कारिक विकासबाट नेपालले लाभ लिन सक्यो भने कृषि साँच्चिकै महत्त्वपूर्ण पेसाको रूपमा विकास हुन्छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालमा कृषि औजार कारखाना, रासायनिक तथा प्राङ्गारिक मल कारखाना, कृषि चिस्यान केन्द्रको स्थापना, कृषि उत्पादन प्रोसेसिङ उद्योगलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले कोरियाको कृषि क्षेत्रमा धेरै नेपाली श्रमिकहरू कार्यरत रहेका र उनीहरूले राम्रो पनि गरिरहेको उल्लेख गर्दै कृषि श्रमिकलाई समानरुपमा व्यवहार हुने विश्वास व्यक्त गर्नुभयो । कोरियामा  औद्योगिक क्षेत्रमा रहेका श्रमिकको तुलनामा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरूमाथि असमान व्यवहार भइरहेको भन्ने समाचार सार्वजनिक भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.