नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माणको काम सुरु

0

जनकपुरधाम \ सशस्त्र प्रहरी बल नेपालद्वारा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल–भारत सीमा स्तम्भहरुको पुनर्निर्माण, मर्मत सम्भार र रङ्गरोगनको काम सुरु गरिएको छ ।

सीमा सुरक्षामा रहेका दुवै देशको सुरक्षा अधिकारीको रोहवरमा धनुषाको नगराइन नगरपालिका –२ जटही सीमानाकामा अवस्थित सिमा नं. २८५–४ बाट पुनर्निर्माण, मर्मत सम्भार र रङ्गरोगन गरिने कामको आजबाट सुरु गरिएको हो । एक कार्यक्रमबीच सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाह सो कामको उद्घाटन गर्नुभयो ।

२०७७ साउन १९ गतेको नेपाल सरकारको मन्त्रिपरिषदबाट निर्णय भएबमोजिम नेपाल–भारतको सीमाक्षेत्रमा रहेका सीमास्तम्भमध्ये विजोरा नम्वरका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार रङ्गरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम आजबाट सशस्त्र प्रहरी बल नेपालले सो कार्यको थालनी गरेको छ ।

जोरा नम्बरका सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार  र रङ्गरोगनको काम भारतीय पक्षले यसअघि नै गरिसकेको बताइएको छ । मधेश प्रदेशको भारतसँगको सीमा नाकामा करिब चार हजारभन्दा बढी सीमास्तम्भहरु रहेकोमा पहिलो चरणमा एक हजार सीमास्तम्भको मर्मत तथा रङ्गरोगनको काम गरिने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख शाहले जानकारी दिनुभयो ।

त्यसैगरी धनुषामा करिब १ सय ५० भन्दा बढी सीमास्तम्भको मर्मत र रङ्गरोगनको काम गरिने सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्लले बताउनुभयो । आजको कार्यक्रममा दुवै देशका सीमा सुरक्षा बलका प्रमुखहरुले यस प्रकारको कामले सीमास्तम्भको मात्र नभइ दुवै देशको सुरक्षा, सदभाव र प्राविधिक जटिलता समाधान हुने बताउनुभयो ।

कार्यक्रममा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष मनिका झा, सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधिको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.