ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया रोकिँदैन : मन्त्री किराँती

0

विराटनगर \  पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (बुधबार) बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री किराँतीले पहाडी र हिमाली क्षेत्रका जनताले सधैँ कष्टपूर्ण यात्रा गरिरहनुपर्छ भन्ने मान्यतामा आफू नरहेको भन्दै जनताको सेवाका लागि जहाज अभाव भएकोले खरिद गर्न लागेको बताउनुभएको हो ।

विकट गाउँका महिला सुत्केरी हुन नसक्दा सबैले हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था नहुँदा मृत्युवरण गर्नुपर्ने परिस्थिति रहेका कारण पनि नेपाल वायु सेवा निगमले जहाजको आवश्यकता महसुस गरिरहेको उहाँको भनाइ थियो ।

जहाज खरिदका लागि आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘‘मुख्य कुरा स्रोतको होइन् आवश्यकता हो कि होइन भन्ने हो ।  आवश्यकता हो भने सरकारले स्रोतको प्रबन्ध गर्छ, हामी स्रोतको व्यवस्था मिलाउँछौं ।’’

निगमले १० वटा ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको र यसै आर्थिक वर्षभित्र जहाज आइसक्ने उहाँले बताउनुभयो ।

यसैबीच मन्त्री किराँतीले विराटनगर विमानस्थलभित्र सञ्चालित पसल तथा क्यान्टिनहरुको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा पानी लगायतका पेय पदार्थ तथा जङ्क फुडहरु लेज, चाउचाउ आदिमा उल्लेख गरिएको अधिकतम बिक्री मूल्यभन्दा तीन गुणा बढीसम्ममा बिक्री गर्ने गरेको पाइएको थियो ।

मन्त्री किराँतीले आजैबाट एमआरपीमा उल्लेख भएभन्दा बढी मूल्य लिएर बिक्री गर्नेलाई कारवाही गर्न निर्देशन दिनुभयो । उहाँले अबदेखि उपभोक्तासँग बढी मूल्य लिएको पाइएमा कुनै मौका नदिई कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

Leave A Reply

Your email address will not be published.