कार्यसम्पादन सम्झौताले कामको तीव्रता बढ्नेः मुख्यमन्त्री जम्कट्टेल

0

हेटौंडा \ बागमती प्रदेश सरकारले सबै काम कारवाहीलाई व्यवस्थित र सिस्टममा लैजानका लागि सरकारका मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका मन्त्रीहरुसँग बुधबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले कार्यसम्पादन सम्झौताले कामको तीव्रतालाई बढाउने बताउनुभयो ।

उहाँले प्रदेशमा स्थायी संरचना नभएपनि कम खर्चमा स्तरिय सेवा प्रदान गर्न प्रदेश सरकार केही नयाँ ऐन बनाएर लैजाने तयारीमा रहेको बताउनुभयो । सेवा प्रवाहलाई छिटोछरितो बनाई काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुको साथै बजेटमा व्यवस्था भएका योजनाहरुलाई बिना हस्तक्षेप अगाडी बढ्न मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।

स्थानीय सरकारमा कर्मचारीको अभाव भई काम गर्न असहज भएको गुनासोलाई समाधान गर्न प्रदेश सरकारमा कर्मचारी अभावको सुची दर्ता गर्न स्थानीय तहलाई आग्रह समेत उहाँले गर्नुभएको छ ।

काठमाडौंदेखी प्रदेशको राजधानी हेटौंडा जोड्ने भीमफेदी—काठमाडौें सडक खण्ड पुस महिना भित्र निर्माण सक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै मुख्यमन्त्री जम्कट्टेलले चालु आवदेखी प्रदेशका १३ जिल्लामा सबै सेवा दिने कार्ययोजना बनेको बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.