एशियाली मुलुकका मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढ्दो

0

काठमाडौं \ मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) ले विश्वव्यापी रुपमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ ।

फोरम एशियाको काठमाण्डौमा बसेको बोर्ड बैठकले एशिया महादेश भित्रका सबै देशहरुमा मानवअधिकार रक्षकहरुको अवस्था एउटै रहेको र उनीहरुमाथि दैनिक रुपमा नयाँनयाँ प्रकृतिका चुनौति थपिँदै गएको निष्कर्ष निकाल्दै अन्तरदेशिय सञ्जाल बनाएर मुद्दाको पैरवी गर्नुपर्ने निस्कर्ष निकालेको हो । देश भित्रै विकसित राजनैतिक घटनाक्रम, सिमा क्षेत्रमा दैनिक हुने मानवअधिकार उल्लंघनका घटना, अन्तरदेशिय सम्बन्ध लगायतको प्रत्यक्ष असर मानव अधिकार रक्षकहरुमा पर्ने गरेको निस्कर्ष बैठकले निकालेको छ । फोरम एशियाले व्यापार व्यवसायका कारण पनि मानवअधिकार उल्लंघन हुने क्रम बढ्दै गएकाले त्यसतर्फ पनि सचेत हुन सबैलाई आव्हान गरेको छ । विश्वव्यापि उदारिकणसँगै विकसित घटनाक्रमले मानवअधिकार रक्षकहरुकै सुरक्षामा चुनौति थपिएको भन्दै बैठकले मानअधिकारको रक्षा र मानवअधिकार रक्षकहरुको सम्मानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएको हो ।

फोरम एशियाका अध्यक्ष जेराल्ड जोसेपले दक्षिण एसियाली मुलुकमा मानवअधिकार रक्षकमाथि बढ्दै गएको चुनौति सामाना गर्न अन्तरदेशिय सञ्जाल बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मानवअधिकार रक्षकहरु सरकारका विरोधी नभएको र उनीहरु मानव अधिकारको रक्षा, लोकतन्त्र र विकाशको मुद्दाका सहयोगी हुन् भन्ने बुझाउनु आवश्यक रहेको बताउनु भयो ।भारतका मानवअधिकार रक्षक कृति रोयले अहिले पनि अन्तरदेशिय सीमाहरुमा हिंसात्मक गतिविधि भईरहेको ती घटनाका पीडीतले न्याय पाउन नसकेको र ती क्षेत्रमा अधिकारका लागि लड्ने मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढेकाले सबै देशका मानवअधिकार रक्षकहरु अधिकारको लडाईमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

फोरम एसियाकी बोर्ड सदस्य एवं मानवअधिकार रक्षक डाक्टर रेणु अधिकारीले समुदायस्तरमा काम गरिरहेका मानव अधिकार रक्षकहरुको अवस्थामा अहिले पनि सुधार आउन नसकेको र थप सुरक्षा चुनौति बढेको बताउनु भयो । उहाँले विश्वव्यापी रुपमा नै देखिएको आर्थिक संकटले थपेको चुनौतिसँगै व्यापार व्यवसायका कारण मानवअधिकारमा थप्न सक्ने जोखिमतर्फ सजग हुदै मानवअधिकार रक्षकको सुरक्षा र सम्मानका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

मानवअधिकार रक्षकहरु सम्मिलित ८५ वटा संस्थाको साझा सञ्जाल फोरम एशिया २४ वटा देशमा कार्यरत छ । फोरम एशियाको बोर्डमा नेपालसहित ९ वटा देशको प्रतिनिधित्व रहेको छ ।

Leave A Reply

Your email address will not be published.