नेपालको ‘म्याक्रो इकोनमी’ उकास्न चाहन्छौं: डिला खरेल

0

एडिलेड । गैर आवासीय नेपाली संघ (एनआरएनए एनसीसी) अस्ट्रेलियाको अध्यक्षमा पदमा उम्मेदवारी दिएका सामाजिक अभियन्ता डिला खरेलले एनआरएनहरुले नेपालमा लगानी गरी मुलुकको बृहत् अर्थतन्त्रलाई उकास्न चाहेको बताएका छन्।

जुलाई २९ तारिखमा हुन लागेको चुनावका लागि विभिन्न स्टेटमा अभियान सुरु गरेका  खरेलले एडिलेडमा आयोजित छलफल कार्यक्रममा बोल्दै आफू निर्वाचित भए नेपालमा रोजगारीको अवसर सिर्जना गर्नका लागि पहल गर्ने बताए । उनले ‘एक एनसीसी, एक लगानी, एक रोजगार’ आयोजनालाई प्रतिफल देखिने किसिमले लागू गर्ने प्रतिवद्धता पनि जनाए।

एनआरएनहरुसँग मातृभूमिले पनि आशा गरेको बताउँदै उनले अस्ट्रेलियामा सिकेका ज्ञान, सिप र अनुभव उपयोग गरी नेपालमा सहयोग गर्ने वातावरण बनाउन लागि पर्ने पनि योजना सुनाए ।

अध्यक्षका उम्मेदवार खरेलले आफूहरु नेपाल सरकारको सहयोगी भएर नेपालमा काम गर्ने पनि बताए । उनले भने ‘नेपालमा शिक्षा, स्वास्थ्य र परोपकारको क्षेत्रमा काम गर्ने कुरा सवैले गर्ने गरेका छन् । तर म यी जम्मै विषयमा नेपालीले अनुभूत गर्ने गरी काम गर्छु,’ उनले भने।

आफू निर्वाचित भएपछि डोल्पामा दुइ वर्षभित्रमा एउटा विद्यालय निर्माण गर्ने योजना रहेको पनि खरेलले बताए । यसैगरी जुम्ला जिल्लाको सरकारी अस्पताललाई १० लाख रुपैयाँ बराबरको आवश्यक उपकरण दिने पनि उनले बताए । अहिले पनि एनआरएनएहरुले विभिन्न माध्यमबाट नेपालमा सहयोग गरिरहेको बताउँदै यसलाई संस्थागतरुपमा परोपकारी कार्यक्रममा जोड्ने र आफूहरुले ती व्यक्तित्वहरूलाई ‘रोल मोडल’ को रुपमा ब्रान्डिङ गर्ने पनि उनले बताए ।

‘दिने, दिने र दिने’

 आफूले ‘दिने, दिने र दिने’ स्लोगनका साथ नेपालको सेवामा लागि परेको पनि उनले बताए ।

अस्ट्रेलियाका ८ स्टेटमा रहेका नेपालीहरुका फरक फरक समस्याहरुका बारेमा आफू जानकार रहेको बताउँदै उम्मेदवार खरेलले झण्डै २ लाख नेपालीहरु यहाँ रहेको र उनीहरुका समस्याहरुबारे आफ्नो टिमले विगतदेखि नै अध्ययन गरेको बताउँदै ती समस्या समाधानका लागि आफ्नो निरन्तर पहल रहने प्रतिवद्धता जनाए ।   विगतदेखि नै समस्या छ समस्या छ मात्रै भन्ने कुरा हामीले सुने पनि यहाँको सफलताका कुराहरुका बारेमा पनि जानकारी गराउन जरुरी रहेको खरेलले बताए । उनले सफलताको कथाहरुले अरुलाई मार्गदर्शन गर्ने बताउँदै नेपालीहरुको समस्या समाधानगर्न  आफूहरुले जिम्मेवारी लिने गरी अघि बढ्ने बताए ।

Leave A Reply

Your email address will not be published.