संयुक्त राष्ट्रसंघ महासभाले नेपालको प्रस्ताबमा अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेको छ। यो बर्षबाट विश्वभर हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने निर्णय पारित भएकोछ ।
न्यूयोर्कस्थित राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने सम्बन्धि उक्त प्रस्ताव नेपालले प्रस्तुत गरेको थियो। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापाको पहलमा पारित प्रस्तावमा स्वास्थ्यको अर्थ केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा वातावरणीय समग्र कल्याणसँग जोडिएको उल्लेख गरिएको छ।
थापाका अनुसार स्वस्थ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा समावेशी स्वास्थ्य प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता पारित प्रस्ताबमा औंल्याएको छ। प्रस्ताव पारित हुन सहयोग र समर्थन गर्ने विभिन्न राष्ट्रहरूप्रति नेपालको तर्फबाट धन्याबाद दिदै राजदूत थापाले यसलाई नेपालको लागि महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा लिने बताउनुभएकोछ।