कांग्रेस केन्द्रिय समिति बैठकका लागि १० वटा एजेण्डा तय

0

काठमाडौं \ नेपाली कांग्रेस पार्टीले मंगलबारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दश वटा एजेण्डा तय गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताउनुभयो । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।

महामन्त्री शर्माले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गर्नुभयो ।

केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

महामन्त्री शर्माले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताउनुभयो । कांग्रेस केन्द्रिय कार्यसमिति बैठक भोलि(मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.