भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

0

छेन्दु (चीन) \  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ। जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताउनुभयो।

“कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ। पूर्वउपप्रधनमन्त्री, पूर्व गृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ”, उहाँले भन्नुभयो।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो। “जो सुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन”, उहाँले भन्नुभयो, “अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ।”

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उहाँले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ। यो हाम्रो सङ्कल्प हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ। देशमा एउटा आशा पैदा हुन्छ।” (रासस)

Leave A Reply

Your email address will not be published.