सरकारले झन्डै १ खर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्ता बाँड्दै

0

सरकारले विश्व अर्थतन्त्रमै मन्दी आउँदा नेपालको आर्थिक क्षेत्र पनि सुस्ताएको दाबी गरेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज आइतवार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण विश्वको समग्र आर्थिक वृद्धिदर २ दशमलव ८ प्रतिशतमा सीमित हुने उल्लेख गर्नुभएको हो  ।

नेपालमा चालु आर्थिक वर्षका लागि सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने देखिएको अर्थमन्त्री महतले बताउनुभयो ।

यस्तै कुल उपभोग पनि कुल गार्हस्थ्य उत्पादनको तुलनामा जम्मा ९३ दशमलव ६ प्रतिशतमा सीमित रहने र लगानी ५ प्रतिशतले घटेर १७ खर्ब ५४ अर्ब रुपैयाँ रहने आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी ८ दशमलव १ प्रतिशतले बढेर १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ अर्थात् १३ सय ९९ सय अमेरिकी डलर पुग्ने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय १० अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १७ सय ५२ अमेरिकी डलर रहने सर्वेक्षणमा उल्लेख छ ।

यस्तै सरकारको खर्च बढ्दै गए पनि आम्दानी भने घट्दो छ । सङ्घीय, प्रदेश र पालिका तहको एकीकृत खर्च ९ दशमलव ४ प्रतिशतले बढेको छ तर राजस्व भने गएको फागुनसम्म १५ प्रतिशतले घटेर ५ खर्ब ८ अर्ब रुपैयाँमात्रै रहेको छ । सरकारको ऋण पनि बढिरहेको छ, आन्तरिक र बाह्य गरेर २१ खर्ब ५४ अर्ब रुपैयाँ ऋण पुगेको छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता पाउनेहरूको सङ्ख्या बढ्दै जाँदा सरकारको दायित्व थपिँदै छ । चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या ३६ लाख ८३ हजार ६ सय जना नाघेको छ, यो वर्ष सरकारले झन्डै एक खर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च गर्दैछ ।

Leave A Reply

Your email address will not be published.