विश्वकपको उपाधि अर्जेन्टिनालाई, गोल्डेन बल र बुट कसलाई ?

0

काठमाडौं : अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिना च्याम्पियन बन्यो ।

विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ ।

यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।

विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो ।

कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सधैंका लागि लैजान पाउने व्यवस्था छ ।

यस्तै उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् ।

गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकट र आतिथ्य बिक्रीबाट आम्दानी गर्दै आएको छ ।

यस्तै अर्जेन्टिनाका कप्तान मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे ।

अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् ।

त्यस्तै फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने ।

यस्तै अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन उनले निर्णायक भूमिका खेले ।

Leave A Reply

Your email address will not be published.