नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्वारा दलहरुलाई सात दिनको समय

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो ।

उनले संविधानको धारा ७६ को दुई बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा एक अनुसार निर्वाचनमा कुनै दलको बहुमत नआएपछि उपधारा दुई अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले दिएको समयसीमा अनुसार दलहरुले अव पुस १० गते साँझ पाँच बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।

संविधानको धारा–७६ को उपधारा दुईमा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

यो प्रक्रियाबाट कसैले बहुमत देखाउन नसकेको अवस्थामा उपधाराका तीन अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरेर बहुमत पुर्‍याउन ३० दिनको समय दिने व्यवस्था छ ।

राष्ट्रपतिले अन्तिम परिणाम प्राप्त भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ ।

नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहेका दलहरूमा भने शक्ति बाँडफाँटबारे सहमति जुटिसकेको छैन ।

सत्तारुढ गठबन्धनले आफ्नो पक्षमा बहुमत सुनिश्चित रहेको दाबी गर्दै आगामी सरकारको नेतृत्वमा दाबी गरेको छ । तर प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने टुंगो लागेको छैन ।

गठबन्धनवाट सरकारको नेतृत्व नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैको दाबी छ ।

Leave A Reply

Your email address will not be published.