संसद सचिवालय अधिवेशनको तयारीमा, संसद भवनको मर्मत सम्भारलगायतका काम सम्पन्न

0

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश भएसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारीलाई तिव्रता दिएको छ ।

निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंसिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तिव्रता दिएको हो ।

सचिवालयले संघीय संसद भवनको मर्मत सम्भारलगायतका काम गरिसकेको छ । दलअनुसार सिट व्यवस्थापन तथा अन्य प्राविधिक पक्षको परीक्षण पनि सचिवालयले गरिसकेको छ ।

यस्तै दलको कार्यालय व्यवस्थापनलाई पनि सचिवालयले अन्तिम रूप दिएको छ । सचिवालयले राष्ट्रिय दलको मान्यता पाएका सात दलसहितका सबै दललाई कार्यालय व्यवस्थापन गर्नेछ ।

अघिल्लो पटक पाँच दलले राष्ट्रिय दलको मान्यता पाएकोमा यो पटक सात पुगेका छन् । यस्तै दसभन्दा बढी सिट जितेका दललाई पनि संसदीय दलको सुविधा उपलब्ध हुनेछ ।

राष्ट्रिय दलको मान्यता नपाएका दल तथा स्वतन्त्र सदस्यहरूलाई पनि सचिवालयले कार्यालय व्यवस्थापन गर्नेछ ।

यो पटक नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाले राष्ट्रिय दलको मान्यता नपाए पनि कार्यालय पाउने छन् । यस्तै पाँच स्वतन्त्र सदस्यले पनि कार्यालय पाउने छन् ।

Leave A Reply

Your email address will not be published.